१९ पुष, काठमाडौँ । कोभिड १९ का कारण २०७६ चैतदेखि बन्द भएका विद्यालय खुल्ने भएका छन् ।
आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सिसिएमसी निर्देशक समिति) बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बैठकका निर्णयहरु सुनाउँदै उक्त कुराको जानकारी गराएका हुन् ।
उनका अनुसार नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रमा वर्तमान स्थिति विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए ।
यस्तै बैठकले कोभिडको संक्रमण कम भएको, बजारमा भीडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना संक्रमणको प्रवेश भए बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने निर्णय गरेको पनि सचिव गुरागाईंले जानकारी दिए ।
यस्तै नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायतलगायत विभिन्न २०-२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय पनि समितिले गरेको छ ।
कोरोना संक्रमण कम हुँदा नागरिकमा सुरक्षा सचेतना कम देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गराउन र कारवाही गर्न समेत जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
वि.सं.२०७७ पुस १९ आइतवार २०:०५ मा प्रकाशित






























