back
CTIZAN AD

शताब्दी पुरुष सत्यमोहन जोशी भन्छन्–हो,मेरो अझै एउटा सपना छ

वि.सं.२०७७ पुस २१ मंगलवार

1.7K 

shares

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अहिले १०१ वर्ष भए । तर उनको जोश र शैली भने अझै तन्नेरी छ । यस्तै तन्नेरी जोश र शैलीमा उनी पुषको चिसो मौसममा पनि निरन्तर दुई घण्टासम्म धाराप्रवाह प्रस्तुत भएका छन् एक साहित्यिक संवाद कार्यक्रममा ।

एनआरएनएले साप्ताहिक रुपमा संचालन गर्दै आएको ’प्रवासी प्रवाह’ अनलाईन भर्चुअल कार्यक्रमको आइतवारको विशेष शृंखलामा शताब्दी पुरुष जोशी यसरी जोशिलो शैलीमा प्रस्तुत भएका हुन् ।

नयाँ वर्ष सन् २०२१ को पहिलो विशेष कार्यक्रम भनेर एनआरएनए अन्तर्गतको भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले ’संचालन गर्दै आएको ’प्रवासी प्रवाह’ मा जोशीसंग उनको जीवन भोगाई,साहित्य,संस्कृति र इतिहासका विविध विषयमा प्रत्यक्ष संवाद गरिएको थियो ।
तन्नेरी वय र जोशका साथ वरिष्ठ संस्कृतिविद एवं जीवित सम्पदा जोशीले प्रस्तोताका हरेक जिज्ञासाको घटना विवरण,तिथिमितिसहित जवाफ दिएका थिए ।

नेपालीले नोबेल पुरस्कार पाएको हेर्न बाँकी छ

कार्यक्रम संचालन समूहको तर्फबाट पत्रकार गौतम दाहालले जोशीसंग विविध विषयमा जिज्ञासा राखेका थिए । समितिका मिडिया कोर्डिनेटर समेत रहेका दाहालले वाङ्गमय शताब्दी पुरुष जोशीलाई जीवनमा अझै केही गर्न पाए हुन्थ्यो अर्थात् केही सोच र योजना छन् कि भनेर प्रश्न गरेका थिए । जवाफमा जोशीले आफुसंग अब कुनै पदवी,पद प्राप्ती र अन्य लोभ एवं मोह केही बाँकी नरहेको तर आफु नेपालको पुत्र हुँ भन्न पाउँदा नै गर्व रहेको भन्दै आफु जस्तै कुनै नेपाली वा जहाँसुकै बसेको भएपनि नेपाली मूलको सन्तानले नेपाली माटो र संस्कृतिको वासना आउने साहित्यिक कृति सिर्जना गरेको र त्यस्तो कृतिले नोबेल पुरस्कार पाएको देख्ने चाहना बाँकी रहेको बताए ।

No description available.

तीनपटक नेपालको सम्मानित मदन पुरस्कार जितिसकेका जोशीले पहिलो मदन पुरस्कार पाउने साहित्यकारको समेत परिचय बनाएका छन् ।
तीन छोरा, तीन छोरी, १२ नाति र ७ पनातिका अभिभावक जोशी आफ्नी धर्मपत्नीसंग ललितपुरको बखम्बूबहालमा बस्छन्। उनले नेपाली लोकगीत एक अध्ययन (हाम्रो लोक संस्कृति) कृतिका लागि २०१३ मा पहिलो मदन पुरस्कार प्राप्त गरेका थिए भने नेपाली राष्ट्रिय मुद्रा बारेको अनुसन्धानात्मक कृतिका लागि २०१७ मा दोश्रोपटक मदन पुरस्कार र तेश्रोपटक कर्णालीको लोक संस्कृति र अन्य संयुक्त कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।
उनका इतिहास, संस्कृति, अन्वेषण, नाटक, कथा र पूर्वीय दर्शनका विविध विषयमा ६० वटा कृति प्रकाशित छन् । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव समेत रहेका जोशीले नै आफ्नो कार्यकालमा गाइजात्रा महोत्सवको सुरुवात गरेका थिए ।

जुरेली चरी र नेपाली भाषाको अनुसन्धानमा जोशी

जोशीका हरेक वार्तालाप र कुराकानीमा जोडिने प्रसंग मध्ये जुरेली चरीको प्रसंग पनि एक हो । ‘के खायो रेलीमाई के लायो होला, मेरो माया रेलीमाई जुरेली चरीले’ ग्रामीण दूरदराजका बस्तीमा गुन्जने यी र यस्तै लोक भाकाहरुलाई टपक्क टिपेर जोशीले कृति नै तयार गरेका थिए । जसले उनलाई मदन पुरस्कार दिलायो ।
उनले नेपाली भाषा सभ्यताको अनुसन्धान गर्न यसको उद्गमथलो कर्णालीको जुम्लास्थित सिन्जा पुगेर अध्ययन गरे । ’त्यो बेला ज्यादै दुःख पाएँ’ कुराकानीका क्रममा जोशीले त्यो बेलाको स्मरण गर्दै भने । ‘गयो डोटी, खायो रोटी, फर्कंदाखेरि धोती न टोपी’ होला भनेर आफुहरुलाई तत्कालीन अन्चालाधीशले सिन्जा जान नदिने प्रयास गरेको उनको भनाई थियो । ‘तैपनि हामी पुग्यौं र जे गर्न सक्यौं त्यसमा सन्तुष्ट छु’ जोशीले आफ्नो अनुसन्धानप्रति गौरव गर्दै भने ।

No description available.

चिन्तन गर्छु,चिन्ता गर्दिन

तपाईंको दीर्घ जीवनको रहस्य के होला भनी सोधिएको प्रश्नमा जोशीले जीवन जिउने हरेक व्यक्तिको शैली फरक हुन्छ भन्दै आफुले लोभ,मोह र चिन्ता कहिल्यै नगर्ने बरु जीवन जिउने चिन्तन गर्ने गरेको बताए । ‘म अंग्रेजी कवि जोन किट्स र जुरेली चरीबाट प्रभावित व्यक्ति हुँ,त्यसैले म चिन्ता गर्दिन’ जोशीको भनाई थियो ।

सामान्य जीवनशैली, अचम्मको सक्रिय जीवन

१०१ वर्षको उमेरको तपाईं, हामी परिकल्पना गरौँ त ? के आफ्नो जीवनका हरेक क्षण र घटनाहरुको तिथिमिति र त्यस घटनासंग जोडिएका पात्रहरुको नाम सबै हामी स्मरण गर्न सक्छौं होला ? प्रविधिले हाम्रो आफ्नो स्मरण शक्तिलाई नै सिमित बनाई दिएको यो पुस्ताका लागि सत्यमोहन जोशी एउटा यस्तो गर्विलो र उँचो व्यक्तित्व हुन् जसले आज पनि ती सबै घटनाका तिथिमिति र पात्रहरुको नाम फरर सम्झन्छन् । बोली स्पष्ट छ,आँखा तेजिलो छ,कान प्रष्ट छ अनि जोश उत्तिकै तन्नेरी । सहज रुपमा विश्वास गर्न समेत गाह्रो हुन्छ । ‘हामीलाई पनि कसरी संवादलाई ऐतिहासिक र सहज बनाउने अनि कसरी कुरा गर्ने ? बोल्न पो उहाँलाई कठीन हुने हो कि ? सुन्न पो उहाँलाई समस्या हुने हो कि भन्ने चिन्ता थियो,तर हाम्रो चिन्ता हामीसंगै रह्यो उहाँले हामीलाई नै जित्नु भो, कुनै त्यस्तो असहज महसुस गर्नुपरेन’ पत्रकार दाहालले भने । आफ्ना लागि समेत जोशीसंगको यो वार्तालाप ऐतिहासिक भएको दाहालको भनाई छ ।

यस्तो छ जोशीको दैनिकी
जोशी बिहान करीब साँढे पाँच बजेतिर उठिसक्छन् । नित्यकर्म, आमाबुवाको प्रतिमामा प्रणाम र गाईको एक कप तातो दुधसंगै दैनिकी सुरु हुन्छ । नियमित खानपीन भनेको सामान्य दालभात, तरकारी नै हो । दिउँसो भेटघाट अनि अध्ययनमै बित्छ । बिगत केही वर्ष पहिलेसम्म उनी प्रायः हरेक साहित्यिक कार्यक्रममा पुग्ने गर्दथे । छरितो कदका जोशीको जोश चाहिं गज्जबको छ ।

आमाको दुध धेरै चुसें,त्यसैले होला मलाई कुनै रोग छैन

जोशीले कुराकानीका क्रममा सानोमा आफुले स्तनपान धेरै गरेको आमाले बताएको स्मरण गर्दै भन्छन्,– ‘शायद त्यसैले होला अहिलेसम्म कुनै रोग पनि छैन । औषधी पनि खानु परेको छैन।’ आफ्नो सन्तानलाई स्तनपान गराउन आनाकानी गर्ने आमाहरुलाई जोशीको यो भनाईले पक्कै पनि सोच्न बाध्य गराउला ।

अरनिको पहिलो एनआरएन

१३ औं शताब्दीमा नेपाली कलाकार अरनिको चीन गएका थिए र उनले त्यहाँ नेपाल र आफ्नो समेत पहिचानलाई उँचो बनाए । विक्रम संवत २०१६ सालमा चीन पुगेका जोशीले त्यहाँ अरनिकोले गरेको योगदानका बारे अध्ययन गरे । त्यही प्रसंगको कुराकानीका क्रममा जोशीले अरनिकोलाई पहिलो गैरआवासीय नेपाली मान्न सकिने आधार रहेको बताए ।
जोशी न्युजिल्यान्ड पुग्ने सम्भवतः पहिलो नेपाली समेत हुन् । सर एडमण्ड हिलारी र तेन्जिंग नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथामा पहिलो सफल आरोहण गरेको सन् १९५३ को मे २९ तारिख हो जुनबेला जोशी एक सरकारी कर्मचारीको रुपमा तालिममा सहभागी हुन न्युजिल्यान्ड पुगेका थिए ।

अनि भाषाको कुरो

दुई घण्टा लामो कुराकानीमा बिना कुनै थकान निरन्तर हरेक प्रश्नको जवाफ दिंदै गर्दा जोशीले पटकपटक भाषा र संस्कृति नै हाम्रो पहिचानको आधार रहेको भन्दै यसको संरक्षण र सम्बर्द्धनमा जुट्न आग्रह गरेका थिए । ‘बिश्वलाई हामीले केही दिन सकेका छैनौं,बिश्व साहित्य जगतबाट हामीले लिएका मात्रै छौं अब हामीले दिनुपर्छ । कलमको भरले देशको महिमा र गरीमालाई हामी उचाल्न सक्छौं,स्तरीय साहित्य सिर्जना,विभिन्न भाषामा अनुवाद र अंग्रेजी लेखनमा हामीले जोड दिनुपर्छ’ अंग्रेजी र नेपाली दुवै भाषामा पोख्त नेपाल भाषाका विशेष ज्ञाता जोशीले अगाडी भने,–’हाम्रो भाषालाई अन्तर्राष्ट्रियकरण गर्ने चासो र लगानी दुवै भएको छैन । हाम्रो पहिचान र सबै नेपालीलाई समेट्ने आधार भाषा र साहित्य नै हो। त्यसैले अब नोबेल पुरस्कार जित्ने गरी नेपाली एवं नेपाली मूलका लेखक र सर्जकहरुले त्यही स्तरको साहित्य सिर्जना गर्नुपर्छ ।’

आइतवारको प्रवासी प्रवाहको यो विशेष शृंखलामा एनआरएनका अध्यक्ष कुमार पन्त र संस्थापक मध्येका एक पूर्वअध्यक्ष जीवा लामिछानेले जोशीको सम्मानमा कार्यक्रमको आरम्भमा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

भाषा साहित्य,संस्कृति एवं सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष एवं एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाले आफुहरुको आग्रहलाई सहजरुपमा स्वीकार गरी कार्यक्रममा सहभागी भएको भन्दै शताब्दीपुरुष जोशीप्रति आभारसहित धन्यवाद व्यक्त गरेका थिए ।
‘प्रवासी प्रवाह’ की संचालिका एवं समितिकी सदस्य सचिव भगवती बस्नेतले कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

वि.सं.२०७७ पुस २१ मंगलवार १७:५५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...