२३ पुस, काठमाडौं । गएराति भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानलाई साविक विजेता युभेन्ट्सले पराजित गरेको छ । मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्ले ३-१ गोलअन्तरमा खेल आफ्नो पक्षमा पारेको हो ।
पहिलो हाफ एकएकको वरावरीमा रोकिएको खेलको दोस्रो हाफमा युभेन्ट्सले दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो । युभेन्ट्सको जितमा फेडेरिको केएसाले दुई गोल गरे । उनले खेलको १८औं र ६२औं मिनेटमा गोल गरेका थिए । भने युभेन्ट्सको लागि तेस्रो गोल ७६औं मिनेटमा वेस्टन म्याकेन्नीले गरेका थिए ।
मिलानको लागि पहिलो हाफको ४१औं मिनेटमा ढेभिड कालाब्रिएले गोल गरेपनि त्यो हार टार्न पर्याप्त भएन । जित पछि १५ खेलमा ८ जित, ६ वरावरी र १ हारको नतिजा सहित ३० अंक जोड्दै युभेन्ट्स चौथो स्थानमा रहेको छ ।
एसी मिलान भने हार पछिपनि १६ खेलबाट ३७ अंकका साथ पहिलो स्थानमा नै रहेको छ ।
वि.सं.२०७७ पुस २३ बिहीवार ११:४५ मा प्रकाशित

























