back

सन्चारमाध्यबाटै कसरी पीडित भइरहेछन् त महिलाहरु ?

वि.सं.२०७३ माघ ६ बिहीवार

627 

shares
GLOBAL IME AD
NTC AD

amrita-lamsalयो सन २००२ को मे महीनाको कुरा हो, साउथ अफ्रिकाको केप टाउनमा एउटा काठको बाकसमा एउटी महिलाको सुरक्षीत गरेर राखिएको गिदी, यौन अँग र अस्थिपन्जरलाई साउथ अफ्रिकाको झन्डाले बेरेर सँगसंगै छ जना अफ्रिकन “खोइसन’ आदिवासी बच्चीहरुले घेरेर सम्मानका साथ केप टाउनको बिमानस्थलमा ल्याईपुर्‍याईयो; जहाँ ती महीलाको मृत अँगलाई नै भए पनि सम्मान प्रदान गर्न स्थानीय पदाधिकारीहरु कुरिरहेका थिए| ती महीलाको नाम Saartjie Baartman थियो, जसलाई छोटकरिमा Sarah Baartman सेरा बार्ट्म्यान ) पनि भनिन्थ्यो।

सेरा बार्ट्म्यान, साउथ अफ्रिकाकी एउटी युवा “खोइसन” आदिवासी महिला थीइन्, जसलाई सन १८१० मा एउटा ब्रिटिशले किनेर ( त्यति बेला कालाजाती हरुलाई दास/दासीको रुपमा किनबेच गरिन्थ्यो ) युरोपमा प्रदर्शनको लागि लगेको थियो । उनलाई प्रदर्शनकोलागि लगिनुको कारण, उनको शारीरिक बनौट थियो, उनको कम्मर मुनिको भाग थियो। उनलाई पहीले ब्रिटेन पुर्‍याएर लन्डनको पिकाडेलीमा सार्वजनिक रुपमा नाँगै पिँजरा भित्र राखेर प्रदर्शन गरी किन्ने ब्यक्तिले पैसा कमायो। उनलाई पिँजराबाट बाहिर निकालेर परेड गर्न लगाईयो, दर्शक सामु उठ्न र बस्न लगाईयो, ताकि, उनी कुनै मानव नभएर पिँजरामा कैद गरिएको सर्कसकी बस्तु थीइन। उनलाई प्रदर्शन गरिएको त्यस्तो प्रदर्शनलाई “हट्टेन्टट भेनस” भनिन्थ्यो र त्यो हेर्न मानिसहरु टिकेट किनेर जाने गर्दथे।

उनको शारीरिक बनौट, मुख्यत: जाँघ र नितम्व नै मानिसको नाममा कलँक बनेका ती ब्यक्तिहरुकोलागी मनोरन्जन गर्ने साधन बनेको थियो। उनलाई त्यहाँ मात्र प्रदर्शन गरिएन, त्यस पछि फ्रान्स लिएर गए र त्यहाँ पनि उनको त्यत्तिकै मानमर्दन गरियो। करीव पाँच बर्षसम्म प्रदर्शनकी बस्तु बनेकि सेराको मृत्‍यु छब्बीस बर्षको उमेरमै भयो| तर मरेपछी पनि उनले सुख पाइनन; त्यतिखेरका शाशक नेपोलियन बोनापार्टका सर्जनहरुले उनको शरीरलाई छिन्न भिन्न बनाएर उनको गिदी, यौनाँग र अस्थिपन्जरलाई पेरिसको एउटा म्युजियममा प्रदर्शनको लागि राखे| यसरी एउटी महिलाको अस्तित्व मात्रै होइन, एउटा मानवको शरीर मात्रै होईन उनका जिवनका हरेक क्षण र पलहरुलाई पुरुषको मनोरन्जनको साधन बनाईयो; पुरुषहरुको उन्माद परिपूर्ती गर्ने माध्यम बनाईयो।

अन्त्यमा, अर्थात उक्त घटना घटाईएको एक सय बयान्नव्वे बर्ष पछि भएपछी नै भए पनि उनलाई स-सम्मान घर भित्र्‍याईयो|उनलाई भित्र्‍याउने क्रममा साउथ अफ्रिकाको वेष्टर्न केप प्रोभिन्सका प्रिमिएर पिटर मारियासले भनेका थिए,’यो एउटा ब्यक्ति घर फर्किएको मात्रै क्षण होईन, यो एउटा राष्ट्रकै घर फर्किएको क्षण हो।’

जे होस, जिउँदै हुँदाका अबस्थामा सेराको मान र सन्मानको त के कुरा मानव हुनुको अस्तित्व समेतलाई बरबरातापूर्वक व्यबहार गर्ने मानव समूदायले नै उनको अस्थिपन्जर, गिदी र यौनाँगहरुलाई सादर पूर्वक देश भित्र्‍याएर उनीमाथि भएको अत्याचारको अलिकति भएपनि प्रायश्चित गर्‍यो।

त्यो कालक्रम समाप्त भएको दुई सय बर्ष नाघिसक्दा पछिको आजको समयमा पनि महिलालाई हेर्ने नजरमा केही फरक भएको जस्तो लाग्दैन; फरक यत्ति हो कि, त्यति बेला आफूहरुको मनोरन्जनको लागि शक्तिशाली बर्गहरुले निमुखाहरुलाई नाँगै परेड गराउँथे भने आज पनि आफ्नै मनोरन्जन र कुन्ठा प्राप्तीको लागि बिभिन्न माध्यम मार्फत महिलाहरुको धज्जी उडाउँछन। आज सेरा बार्ट्म्यानको कथा अनायासै सम्झनुको मतलव गएको हप्ता राजधानीबाट प्रकाशित हुने छापामा महीलाहरुको बारेमा लेखिने लेखहरु र कतिपय लेखमा आउने सर्वसाधारणका कमेन्टहरु नै हुन्।

यसरी महिलाहरुलाई मानमर्दन गर्दै छापिने लेखहरुको बिरुध्दमा आवाज उठाएको र यस्तो प्रवृत्तिमा सुधार आउनु पर्‍यो भनेर कराएको यो पहिलो पटक पनि होईन र अन्तिम पनि हुनेछैन| चाहे लेखक र सम्पादकहरुले आफ्ना कून्ठाहरु,लेखहरु र महीलाका नाँगा तस्वीरहरु छापेर जाहेर गर्दै जाउन तर कसैले बिरोध गर्‍यो भने त्यसरी छाप्नु पारेको दोष पाठकहरुलाई नै दिन्छन।

हालका दिनहरुमा त, अनलाइनले यसलाई अझै बढि ज्यादती गर्दै गरेको देखिन्छ। त्यस्ता समाचारहहरु र त्यसमा आएका कमेन्टहरु पढ्दा अपमान र पीडाबोधले सीमा नाघ्दछ तर सम्बन्धित पक्षहरुले त्यसकोलागि केही पाइला चालेको देखिन्न।

उपरोक्त बिषयको ताजा उदाहरण, २०७३ साल मँसिर २ गते बिहिबार कान्तिपुर टेलिभिजनको कार्यक्रम,’सुमन सँग’मा प्रस्तुत गरिएको कञ्चन शर्मा रेग्मीको अन्तर्वार्ता प्रकरणले ल्याएको हावाहुरीले त्यस अन्तर्वार्ता ठिक थिएन भन्ने महिलाहरुमाथि भएको आलोचना र टिप्पणीलाई लिन सकिन्छ। उक्त अन्तर्वार्ता के थियो भन्ने हेर्न यो https://youtu.be/7QVltsy68yk लिङ्कमा जानुहोला।

त्यो अन्तर्वार्ताले ठूलै हल्लिखल्ली मचायो। अन्तर्वार्ता प्रकरणमा आरोपित कञ्चन रेग्मीका पूर्व पति र छोराहरुलाई सामाजिक सञ्जाल, फेसबुक र ट्विटर मार्फत यति तल्लो स्तरमा ओर्लिएर गालीगलौज गरिएो कि, कोही आफूलाई सभ्य ठान्नेहरुले रगतको आँशु बगेको महसुस गरे। त्यसै कारणले हुनसक्छ, कार्यक्रम प्रस्तोता सुमन खरेलले फेसबुकको आफ्नो स्ट्याटसमा लेख्नुभयो,”गत बिहीबार कार्यक्रम ” सुमन संग” मा कञ्चन शर्मा रेग्मीको अन्तर्वार्ता पछि हामी आगामी कार्यक्रममा उहाँको परिवारका सदस्यहरुको कुरा सुन्न प्रयत्नरत छौं । मानिस हो, मानिसबाट जीवनमा गल्तीहरु हुन्छन नैं । यहाँ पनि कुनै गल्ती भएको भए, त्यो सच्चियोस् भन्ने मात्र हाम्रो चाहना हो । हामी आधुनिक युगको एउटा सभ्य समाजमा बस्छौं । सभ्यताको प्रदर्शन गर्दै कृपया परिवारका सदस्यहरुलाई कहिं कतैबाट पनि गाली, अपशब्द र अपमान नगरी दिनु हुन दुई हात जोडी बिनम्र अनुरोध गर्न छौं ।”

त्यो अन्तर्वार्ता प्रसारण भएको लगत्तै, मंसिर ५, २०७३ मा अनलाइन प्रकाशन ‘ऐक्यबध्दता: Sansarnews’ मा पत्रकार चन्दा थापाले कञ्चन रेग्मीले अन्तरवार्तामा आएको कुराभन्दा फरक कुरा कञ्चन रेग्मीसँग भएको थियो भनेर फोटो र कञ्चन रेग्मीको हस्ताक्षर सहित आफ्नो डकुमेन्टेसन राखेर एउटा लेख लेखिन्। यो लिङ्क हेर्नुहोला: https://sansarnews.com/?p=16121 तर त्यो लेखलाई सर्वसाधारणले पत्याइ दिएनन्। कारण, पहिलो, अन्तर्वार्ता लिने पत्रकार बिबिसि नेपाली सेवामा २२ वर्ष काम गरेका अधिकाँशका प्रिय व्यक्ति पत्रकार सुमन खरेल थिए। दोश्रो, कान्तिपुर टेलिभिजनको पहुँच दर्शक र श्रोतासम्म अधिकमात्रामा पुग्दथ्यो। तेश्रो, कार्यक्रम प्रस्तुतकर्ताको प्रस्तुतीकरण शैलीमा कञ्चन रेग्मीका जवाफहरुलाई अझै जोड दिँदै ( Emphasis ) प्रस्तुत गरिएको थियो।

उपरोक्त सबै कारणहरुले गर्दा चन्दा थापाको लेख र उनले उठााएका कुराहरुलाई कसले विश्वास गर्ने? उनी एक त महिला, जसलाई नेपाली दर्शक र श्रोताबीच स्थापित भइसकेका पुरुष पत्रकारले छायाँमा पारिदिए। दोश्रो, उनले लेख्ने मिडियाको पहुँच त्यति व्यापक नभएका कारणले सुमन खरेलको जत्तिको श्रोता र दर्शकमाझ उनी पुग्न सकिनन्। त्यसैले उनले साँचो कुरा नै लेखेको र सुमन खरेलको कार्यक्रममा आएको कुरा पूरै साँचो नभए पनि त्यस प्रकरणबाट महिला पत्रकार नै पीडित भइन्। उनलाई यति नराम्रोसँग आलोचनना गरियो कि, त्यसको एउटा उदाहरण भिक्टर रानाभाट नामका व्यक्तिले, सुमन खरेलको फेसबुकको भित्तोमा चन्दा थापाको लेखमाथि गरेको यो कमेन्ट नै पर्याप्त हुन्छ। त्यो थियो,”अनि अहिले सम्म कसको घण्टा खेलाएर बसेकी थियौत मैयाँ,कि तिमी पनि मेहोन रेग्नीको तेस्री रखौटी हौ????थुईक्क तिम्रो घाँस खाने नैतिकता,अब रित्तो डोकोमा हालेर आर्यघाटमा लगेर ग्रह शान्ती गरीदिदाँ हुन्छ थापा मैयाँ,हैन यदी तिमी वा तिम्रो कुनै आफ्त यो अबस्थामा भेटीएको भए तिम्रो अन्तिम जवाफ यही हो???लाजको पसारो,” यस्ता नै कमेन्टहरु त कति छन्।

त्यो बारेमा छोटो रुपमा राख्नुपर्दा यसरी टुँग्याउन सकिन्छ, ‘ठूला भनिने र स्थापित सन्चार माध्यम’ एक पक्षीय भएर कामगर्दा सत्यलाई भ्रमपूर्वक प्रस्तुत गर्दापनि त्यससँग सहमति नराख्नेले, पीडित वर्ग सर्वसाधारणबाट समेत पीडित हुनुपर्ने। जसले गर्दा अर्को पक्षले चरम पीडा व्यहोर्ने स्थितिको सृजना हुने। कञ्चन शर्माको अन्तर्वार्तालले अर्को पक्षलाई दिलशोभा श्रेष्ठको मुद्दामा जस्तै पीडित बनाएको।

कञ्चन रेग्मीको अन्तर्वार्ताले खडा गरेको ‘खालि ठाउँँ’ ( मतलब, अर्को पक्षको भनाइ नराखिएको कारण ) पढ्दै गरेको छोराहरु र कञ्चन शर्माका पूर्व पतिको पछिल्ली पत्नी तथा ती पत्नीबाट जन्मिएको ४/५ वर्षे बच्चाले समेत पीडित बन्नुपरेको; र त्यतिले नपुगेर सत्य लेख्ने महिला पत्रकार समेत पीडित बनेको।

खैर, यो प्रसँग यहीँ छाडौँ, किनकि, मेरो लेखको उद्देश्य, महिलाहरु सन्चारमाध्यममै कसरी पीडित भइरहेछन् भन्ने हो तापनि म यहाँ माथिका उदाहरणलाई प्रतिनिधि पात्र मात्र बनाइरहेछु; कञ्चन रेग्मी ठिक थिइन् वा थिइनन्; उनले आरोप लगाएका छोराहरु वा पूर्वप्रति प्रति न्याय भयो वा भएन भन्ने पाटो अर्को लेखको बिषय बन्नसक्छ।

मेरो पटक पटकको भनाइ र उद्देश्य यही हो, महिलाहरुलाई किन जताबाट पनि लेखेर हिँसामा पारिन्छ। शारीरिक हिँसा मात्रै हिँसा हुने, यसरी गरिएको हिँसा, हिँसा नहुने?

अर्को एउटा केसको उदाहरण पनि हेरौँ,’ललितपुरको ईमाडोलमा गत मँसिर एक गते राति २० वर्षीया

युवतीमाथि सामूहिक बलात्कार भयो। यो समाचार धेरै पत्रपत्रिकामा त आएन; तर जति आयो, त्यसमा ती पीडितलाई नै हानी पुग्ने गरी आयो। प्रकाशित समाचारमा पहिलो गल्ती, ‘दोहोरी साँझमा काम गर्ने युवती बलात्कृत’ भनेर आयो; जहाँसुकै काम गर्ने युवती भए पनि, ‘बलात्कृत’ गरिनु अपराध नै होइन र? यसले महिला तथा युवतीहरुको Access to Mobility र असुरक्षाको वातावरणलाई देखाउँदैन र? एउटी युवतीले ती आरोपितहरुको यौन कुन्ठाको शिकार बन्नु परेको होइन र? अझ त्यो समाचारमा आएको कमेन्ट त यति निकृष्ट छ, के भनौँ?

समाचारमै पनि यसो भनिएको छ,” तीनै जना युवकले आफूमाथि जबरजस्ती पालैपालो बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छिन् । प्रहरीले रश्मिलाई अपहरण गरेर बलात्कार गर्ने प्रवेश थापा र सुशील अर्याललाई पक्राउ गरे पनि घटनाका मुख्य अभियुक्त निर्मल थापा भने भाग्न सफल भए । दोहोरीकी केटी हो, गलत काम गर्दा केही हुँदैन भन्ने मानसिकताका कारण रश्मिमाथि सामूहिक बलात्कार गरिएको छानबिनका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।” राति एक्लै मंगलबजारस्थित डेरा पुग्नु रश्मिलाई सुरक्षित लागेन । त्यसैले उनले आफूसँगै काम गर्ने साथी राजविक्रम रावललाई पुर्‍याइदिन आग्रह गरिन् । रश्मि र राजविक्रम मंगलबजारस्थित डेरामा पुग्दा राति अबेर भैसकेको थियो ।महिलाहरु तथा युवतीहरुको बारेमा यस्ता समाचारहरुमा आउने कमेन्टहरुले समाजले महिलाहरुलाई कस्तो नजरले हेर्छ भन्ने छर्लङ्ग हुन्छ भने अर्कोतर्फ, अनलाइनमा राखिएका समाचारहरुमा तल्लो स्तरमा ओर्लिएर गरिने कमेन्टहरुलाई फिल्टर नगरी सम्बन्धित समाचारमाध्यमहरुले राखिदिँदा त्यसले पीडित पक्षलाई जीवनभर पीडा हुन्छ भन्ने सोच हालसम्म सम्बन्धित पक्षलाई किन नआएको होला?

हुनत, नेपालको सँविधानको २०७२ को धारा ३८ ( ३ ) ले “महिला बिरुध्द , धार्मिक, सामाजिक, साँस्कृतिक, परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिँसाजन्य कार्य वा शोषण गरिने छैन। यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।” भनेको छ तर राजनैतिक बिचार र मुद्दामा सँविधानको हरेक धाराहरुको अक्षरश: व्याख्या गर्नसक्छु झैँ गर्ने सन्चारकर्मीहरुले महिलाका बारेमा शरमले शिर झुकाउनु पर्ने जस्तो लेख छापिँदा वा अनलाइनहरुमा कमेन्ट आउँदा किन त्यत्तिकै राखिदिन्छन्. कि, त्यो पढ्दा सम्बन्धित ठाउँका व्यक्तिहरुलाई पनि स्वादीलो लागेर हो कि?

नेपालमा ‘बिद्दयुतीय कारोबार ऐन २०६३’ पनि नभएको होइन; तर, हरेक पटक यस्ता/त्यस्ता लेख, प्रसारण र टिप्पणीहरु आउँदा प्रश्न गर्न मन लाग्छ, ‘के सन्चारमाध्यममा कार्यरत व्यक्तिहरुलाई कानूनी साक्षरताको कक्षामा पठाउने जरुरत भएको हो कि? उक्त ऐनमा लेखिएको छ,”कम्प्युटर, इन्टरनेट, लगायतका विद्द्युतीय सन्चारमाध्यमहरुमा प्रचलित कानूनले प्रकाशनतथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार, विरुध्दका सामाग्री वा कसैप्रति घृणा वा दोष फैलाउने ( यसलाई जोड दिएर पढियोस्! ) वा बिभिन्न जात जाति र सम्प्रदाय बीचको सूमधूर सम्बन्धलाई खलल पार्ने किसिमका सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्काउने, हैरानी पार्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ।

यस परिच्छेद बमोजिमको कसुरबाट पीडित व्यक्तिलाई हुन गएको हानी नोक्सानी विचार गरी न्यायाधिकरणले कसुरदारबाट मनासिव क्षतिपूर्ति भराई दिन सक्नेछ।” ‘कागजी बाघ’ ( Paper Tiger: Paper tiger is a literal English translation of the Chinese phrase zhilaohu (紙老虎). The term refers to something that seems threatening but is ineffectual and unable to withstand challenge. The expression became well known in the West as a slogan used by Mao Zedong‘s Chinese communist state against its opponents, particularly the U.S. government.” ) त ठूलै छ नि, तर यस्ता बाघहरुले कतै टोक्दैनन्; अनि यसको काम के?

त्यतिमात्रै हो र,नेपाल प्रेस काउन्सिल नामको सँस्था पनि अस्तित्वमा रहेको छ। उक्त सँस्थाले ‘पत्रकार आचार सँहिता’ पनि जारी गरेको छ, हालसालै पूरानो आचार सँहितालाई परिमार्जित गरेर ‘पत्रकार आचार सँहिता, २०७३’ ल्याएको छ। तर फेरि माथि नै उल्लेख गरिएझैँ, ती ठुला ठुला ‘कागजी बाघ’हरुको अस्तित्वलाई चूनौति दिने समय कहिले नल्याउने कसम सम्बन्धित पक्षले खाएकै हो?

समग्रमा भन्नुपर्दा, कम्तिमा सेरा बार्ट्म्यानलाई मृत्‍यु भएको एक सय बयान्नव्वे बर्ष पछि भएपनि सम्मान दर्शाईएको थियो तर नेपाली महिलाले कहीले पनि सन्मान पाउने भएनन्। अझ उल्टो, त्यस्तो भनिनु हुन्न/लेखिनुहुन्न भनेर आवाज उठायो भने, सम्बन्धित पक्षको जवाफ हुन्छ, ‘पाठकले यस्तै मात्रै रुचाउंछन!’

एकै बाक्यमा लेख तुर्नुपर्दा भन्नु यतिमात्रै रह्यो,’निदाएकोलाई बिउँझाउन सजिलो हुन्छ, निदाएको बहानामा रमाउनेलाई गएर टाउकोमा घनले ठोक्न सकिन्न। त्यसैले हामी सन् १८१० को सेरा बार्टम्यान भएरै रमाउन सिक्नुपर्ला!’

 नेपाल प्रेस काउन्सीलद्धारा प्रकाशित पुस महिनाको “संहिता” बाट  साभार

वि.सं.२०७३ माघ ६ बिहीवार ०३:५४ मा प्रकाशित