माघ २३, काठमाडौं । विघटित प्रतिनिधि सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक निकायहरुमा भएको नियुक्तीविरुद्व सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार आफुँ स्वयं सर्वोच्च पुगेर नियुक्तीविरुद्व रिट दायर गरेका हुन् ।
सभामुखसँगै विघटित प्रतिनिधि सभाका सदस्यहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत पनि सर्वोच्च पुगेका थिए ।
सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्यद्वय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास बैरागी, सपथ लिएका ३२ जना संवैधानिक अंगका सदस्यसहित ३९ जनालाई विपक्षी बनाएका छन् ।
गैरसंवैधानिक र गैरकानुनी रुपमा नियुक्ति भएका तपशिलमा उल्लेख भएका पदाधिकारीहरुबाट हुने निर्णय तथा कार्यले मुलुक र जनता, राष्ट्रकै हकअधिकारबारेमा प्रतिकुल असर पर्ने समेत भएकाले निजहरुलाई आफु नियुक्त भएको पदको हैसियतले कुनै निर्णय, कार्य नगर्न नगराउन यथास्थितिमै रहनु भनि सर्वोच्च अदालत नियामवली २०७४ को नियम ४९ (१) बमोजिम अन्तरिम आदेश समेत जारी गरी पाउ भन्दै सापकोटाले निवेदनमा माग गरेका छन् ।
विवादै विवादका बीच गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी थिइन् । जसको चौतर्फी आलोचना भईरहेको छ ।
यस्तो छ सभामुख सापकोटाले दायर गरेको रिट
वि.सं.२०७७ माघ २३ शुक्रवार १४:०४ मा प्रकाशित






























