फागुन २, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले नेकपा पार्टीसँग सम्बन्धित विवाद हल नगरी निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट पारेको छ । आइतबार निर्वाचन आयोगले निर्वाचन आचार संहितबारे बोलाएको छलफलमा उसले यस्तो स्पष्ट पारेको हो ।
छलफलमा सहभागी प्रचण्ड–नेपाल पक्षका नेता लिलामणी पोखरेलले दलको विवाद हल नगरी निर्वाचनको प्रक्रिया अगाडि बढाउन नमिल्ने बताए । ‘६४ प्रतिशत मत प्राप्त गरेको दलको समस्याको हल नगरी कसरी निर्वाचन तयारी गर्न सक्नुहुन्छ ?’, पोखरेलले निर्वाचन आयोगलाई प्रश्न गरेका छन् ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । जससँगै सत्तारुढ नेकपामा विभाजन आएको थियो ।
नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने नेकपाको आधिकारिक पक्ष कुन हो भनेर टुंगो लगाएको छैन । गत माघ ११ मा आयोगले दुवै पक्षको दाबी राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नआएको भन्दै साबिक नेकपालाई नै आधिकारिक मानेको थियो ।
जसलगत्तै दुवै प्रचण्ड–नेपाल पक्षले ऐनको दफा ४३ र ४४ अनुसार दाबी पेस गरेको थियो । तर, निर्वाचन आयोगले भने त्यसबारे कुनै टुंगो लगाएको छैन् ।
‘पार्टी एकताको समयमा भएको सहमति अनुरुपको ४४१ सदस्यलाई मान्यता दिन्छौं, अरु निर्णयलाई मान्यता दिन सकेनौं आयोगले भन्यो’, आयोगसँगको छलफलपछि पोखरेलले भने, ‘केपी ओलीलाई हटाएको अभिलेखिकरण गर्न भनि पत्र आयोगलाई पठायौं, त्यसको जवाफ आयोगले दिएको छैन।’
वि.सं.२०७७ फागुन २ आइतवार १४:२५ मा प्रकाशित






























