फागुन २, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार (भोली) संसद विघटनविरुद्व आव्हान गरिएको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन अपिल गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिपक्षी कांग्रेस संसद विघटनविरुद्व चरणबद्ध रुपमा प्रदर्शन गर्दै आएको छ ।
सोमबार कांग्रेसको ७७ जिल्ला कार्यसमितिले विघटनविरुद्व सबै जिल्लाहरुमा प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनलाई सफल बनाउन देउवाले अपिल गरेका हुन् ।
‘भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले भनेका छन् ।
देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।
यसअघि कांग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरेको थियो ।

वि.सं.२०७७ फागुन २ आइतवार १५:०८ मा प्रकाशित






























