५ चैत, चितवन । युवा व्यवसायी राजन गौतमले बुबाको व्यवसायमा बाल्यकालदेखि साथ दिँदै आए । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहेका गौतम अहिले पनि बुबाले शुरु गरेको व्यवसायलाई विस्तार गर्दै अगाडि बढेका छन् ।
बुबा नारायणप्रसाद गौतमले विसं २०२७ मा शुरु गरेका किराना व्यवसायबाट विस्तार हुँदै चामल मिल, अबिर केशरी, पिताम्बरी, प्राङ्गारिक मल उत्पादनसम्म आइपुगेको छ । अहिले किरानाबाहेक सबै व्यवसाय फस्टाउँदै अगाडि बढेको छ । यी व्यवसायलाई छोरा गौतमले साथ दिँदै आउका छन्।
चितवनका युवा व्यवसायी गौतम भन्छन्, “मैले सानै उमेरदेखि बुबालाई साथ दिएर अहिले पनि व्यवसाय विस्तारमा लागिपरेको छु ।” उनले बाबुले शुरुआत गरेका कारण आफूलाई व्यवसायलाई अगाडि बढाउन सहज भएको बताए । उनले भने, “शुरुवात बुबाले गर्नुभयो, त्यसलाई थप विस्तार गर्न मलाई सहज भयो ।” बुबाको भन्दा फरक व्यवसाय गर्नुपरेको भए असहज र बुझ्न नै लामो समय लाग्ने हुँदा यति छिटो सफलता मिल्न गाह्रो हुने उनका भनाइ छ । कुनै बेला नारायणगढमा मात्रै सीमित हुने उनीहरुको उत्पादन चामल, अबिर, केशरी, पिताम्बरी, प्राङ्गारिक मल अहिले देशभरि बिक्री वितरण हुने गरेको छ ।
विसं २०४३ सालमा नारायणगढ बजारमा खाजा घरका रूपमा स्थापना भएको वैष्णव मिष्ठान्न भण्डार अहिले चार ठाउँमा विस्तार भइसकेको छ । विष्णुप्रसाद सापकोटाले शुरु गरेका यो व्यवसाय अहिले छोरा कृष्णप्रसाद सापकोटाले विस्तार गर्दै लगेका छन् । गत पाँच वर्ष यतादेखि छोरा कृष्ण यो व्यवसाय विस्तारमा लागेका हुन् । बुबाले थोरै समय दिने भए पनि अहिले कृष्णले नै यसको मुख्य जिम्मेवारी लिएर व्यवसाय गरिरहेका छन् ।
उनले मुख्य जिम्मेवारी सम्हालेसँगै नारायणगढमा मात्रै केन्द्रित भएको मिष्ठान्न भण्डार भरतपुर, टाँडी, वीरेन्द्र क्याम्पस गेटमा पनि विस्तार भएको छ । शाकाहारी भोजनालय र मिठाईका लागि ख्याति कमाएको वैष्णवले अहिले प्याकिङ मिठाई उत्पादन शुरु गरेको छ । नमकिन, सोनपापडी, रसवरी, लालमोहनजस्ता मिठाई उत्पादन गरी देशका प्रमुख शहरसम्म पुर्याइएको छ । कृष्णले भने, “अहिले हामीले मिठाईलाई देशैभरि पुग्ने गरी उत्पादन र वितरण गर्दै आएका छौँ ।” बाबुको मिहिनेतसँगै स्थापना भएको वैष्णव ब्राण्डलाई कृष्ण देशव्यापी बनाउन सफल हु भएका छन् । बुबाकै कारण आफूलाई व्यवसाय विस्तारमा सहज भएको उनका भनाइ छ ।
विसं २०३६ मा नारायणगढको शहीदचोकमा बिजुली पसलबाट व्यवसाय शुरु गरेका ऋषिप्रसाद लामिछानेको उक्त व्यवसाय अहिले छोरा अशोकप्रसाद लामिछानेले सम्हाल्दै आएका छन् । आफूले १३ वर्षको उमेरदेखि व्यवसायमा साथ दिएको भन्दै अशोकले विसं २०५५ यता नेतृत्व गरेर बाबुको पेशा सम्हालेको बताए ।
लामिछाने विद्युत् सप्लायर्सका नामबाट शुरु भएको व्यवसायकै आम्दानीबाट छोरा अशोकले साझेदारीमा विभिन्न उद्योग व्यवसायमा लगानीसमेत गरेका छन् । आशिर्वाद समूहका पार्ट्स, पोलिस्याक्स, प्लाष्टोसँगै स्वास्थ्य, शिक्षा र सञ्चारमा समेत उनको लगानी छ । उनले भने, “सबै क्षेत्रको लगानीमा बिजुली पसलको योगदान छ ।” बाबुले शुरु गरेको पेशाकै कारण सफलता हासिल गर्न सहज भएको उनका भनाइ छ । लामिछानेले लगानी गरेका उद्योगको उत्पादन अहिले देशभरि पुग्ने गरेको छ ।
चितवनमा ख्याति कमाएको कर्मा रेष्टुराँको सञ्जाल विस्तार भइरहेको छ । बाबु दुर्गादत्त अधिकारीले नारायणगढमा शुरु गरेको व्यवसाय छोरा अमित र अविनाशले विस्तार गरिरहेका छन् । अहिले काठमाडौँको चाबहिल र सोह्रखुट्टेमा शाखा विस्तार भएको छ । केही दिनभित्रै भरतपुरमा अर्को शाखा खुल्दैछ भने बुटवल र पोखरामा विस्तार गर्ने तयारी गरिएको छ ।
सौराहामा होटल व्यवसाय गर्दै आएका सुमन घिमिरे बाबु हरिक्तभक्त घिमिरेले शुरु गरेका व्यवसायलाई विस्तार गरेर अगाडि बढे्का हुन् । उनले भने, “बुबाले शुरु गरेका कारण आफूले धेरै मिहिनेत गर्नुपरेन ।” युवा पुस्ताले व्यवसाय सम्हालेसँगै अन्तर्राष्ट्रियरूपमा परिचित हुने गरी बजारीकरणसँगै होटलको गुणस्तरमा समेत सुधार गर्न सफलता मिलेको छ । जङ्गल सफारी लजको नाममा सञ्चालित होटल अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ बन्ने गरेको छ । उनले भने, “सेवाग्राहीको चाहनाअनुसार गुणस्तर र सेवामा विविधता दिएसँगै सफलता मिलेको छ ।”
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ सबैले बाबुबाजेको पेशा नअँगालेको भए पनि केहीले भने चार पाँच पुस्तासम्म पेशा अङ्गाल्दै आएको बताए । कतिपयले पेशा परिवर्तन गरेको भन्दै आफ्नो पुर्खाले गरेको पेशालाई समयसापेक्ष परिष्कृत गर्दै अँगाल्नेलाई सफलता मिलेको उनका भनाइ छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल बाबुले गर्दै आएको व्यवसाय छोराहरुले सम्हाल्दै आएको बताउँछन् । बाबुको पेशालाई छोराछोरीले सम्हाल्न सकेमा नोक्सान नहुने भन्दै उनले छोराछोरीलाई पनि सहजै सफलता हासिल गर्न सहयोगी हुने धारणा राखे ।
रासस
वि.सं.२०७७ चैत ५ बिहीवार ११:५९ मा प्रकाशित






























