
११ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण तिब्ररुपमा फैलिएसँगै त्यसले नेपालमा पनि संक्रमणको त्रास बढिरहेको छ ।
केही समयदेखि कोरोना संक्रमण र संक्रमणबाट निधन हुनेको दर घट्दै गइरहेको अवस्थामा पछिल्ला केही दिनयता भने संक्रमणको दर बढ्दो रहेको छ ।
कोरोना संक्रमण रोकथामका लागि नेपालले लकडाउन गरेको आज १ वर्ष पूरा भएको छ । तर, कोरोनाको त्रास भने बढीरहेको अवस्था छ । यस्तो अवस्थामा संक्रमण रोकथामका लागि सरकारले युद्धस्तरमा पाँचवटा काम गनुपर्ने सुझाउँछन् जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे ।
‘बिगत १ बर्ष हाम्रो लागि निकै प्रत्युत्पादक बन्यो । सरकार तथा आम नागरिकको लागि यो स्तरको महामारी पहिलो अनुभव थियो,’ डा. पाण्डेले भन्छन् ‘सरकार र नागरिक दुबैले यो अबधिमा धेरै कुरा सिकेका छौं, अनुभव हासिल गरेका छौं । त्यहि सिकाइ र अनुभवलाई दोस्रो लहर रोकथामको लागि सरकारले ५ वटा काम युद्धस्तरमा गर्नुपर्दछ ।’
यस्तो छ डा. पाण्डेको सुझाव
१. सिमा नाका तथा विमानस्थलमा चेकजांच कडाइ गर्ने, परीक्षण गर्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्ने तथा अन्य व्यक्तिलाई होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने ।
२. कन्ट्याक्ट ट्रेसिंगलाई चुस्त र प्रभावकारी बनाउने ।
३. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने, त्यसको निगरानी तथा अनुगमन गर्ने ।
४. भारत, चीन, रुस, बेलायत, अमेरिका लगायतका देशसंग उच्चस्तरबाट पहल गरेर पुग्ने खोपको प्रबन्ध गर्ने ।
५. लकडाउन तथा निषेधाज्ञा नगर्ने बातावरण मिलाउने ।
.
आम नागरिकले एउटा काम अनिबार्य गर्नुपर्दछ ।
.
१. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने ( सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने ÷ स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, भ्रम र हल्लाको पछि नलाग्ने, धेरै डर नमान्ने तथा सरकारले जारी गरेका निर्देशिका पालना गर्ने ) ।