
१७ चैत,काठमाडौं । देशका विभिन्न ठाउँमा एकैदिनमा डुबेर सात जनाको मृत्यु भएको छ ।
कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने लाल बहादुर चौधरीको १५ वर्षीय छोरा आयुस चौधरीको सोही नगरपालिका-८ वनगाउँस्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । डुबेर बेपत्ता भएका उनको ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्तिबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा शव फेला पारेको हो ।
यसैगरी कैलाली, बर्दगोरीया गाउँपालिका-५ भुरुवा बस्ने लाल सिंह कठरियाको ९ वर्षीय छोरा कैलाश कठरियाको सोही गाउँपालिका-४ स्थित काडा नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु छ ।
बर्दिया, मधुबन नगरपालिका-२ ओराही खोलामा सोही ठाउँ कोठिया बस्ने बल बहादुर थापाको ५ वर्षीय छोरा पिन्स थापाको सोमबार दिउँसो डुबेर मृत्यु भएको छ । साथीहरूसँग खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उद्धार गरी उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बस्ने ४२ वर्षीय परमात्मा कुर्मीको खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित डण्डा खोलामा नुहाउने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्नेक्रममा शव फेला परेको हो ।
यसैगरी रूपन्देही, लुम्बिनी सँस्कृतिक नगरपालिका-१२ आमागाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने शिवदयाल काहारको १२ वर्षीय छोरा कम्लेश काहारको सोमबार दिउँसो मृत्यु भएको छ । होली खेलेर नुहाउन गरेको अवस्थामा डुबेर अशक्त भएका उनको उद्धार गरी मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, राप्तिसोनारी गाउँपालिका-५ चिलरीया बस्ने १९ वर्षीय दीपक बैश्यको सोही ठाउँ बिनौनास्थित राप्ती नदीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
ईलाम, रोङ गाउँपालिका-६ र सूर्योदय नगरपालिका-५ को बिचमा पर्ने सिद्दिखोलास्थित निर्माणाधिन सिद्दीखोला हाईड्रोपावरको दहमा पौडी खेल्ने क्रममा डुबेर मोरङ बिराटनगर महानगरपालिका-४ घर भई हाल झापा अर्जुनधारा नगरपालिका-११ विर्तामोड डेरा गरी बस्ने २३ वर्षीय दिवश खतिवडाको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।