२० माघ,काठमाडौँ । विपद् जोखिम घटाउने विषयमा सरकारले नीतिगत रुपमा सम्बोधन गर्ने तयारी गरेको छ ।
सूचना तथा प्रविधिका माध्यमबाट विपद्का समयमा समुदायलाई सूचना प्रवाह लगाउने र सरोकार भएकाहरुसँग सहकार्य गर्ने उद्देश्यले आयोजित दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी समापन कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले विपद्का विषयमा सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इन्स्टिच्युट अफ क्राइसिस मेनेजमेन्ट स्टडिजले आयोजना गरेको ‘सङ्कटमा सञ्चार र प्रविधिको भूमिका’ विषयको दुईदिने गोष्ठीमा विभिन्न मुलुकमा भएका घटनाका विपद्का सूचना समुदायमा प्रवाह गर्ने शैली तथा अन्य विषयमा छलफल भएको थियो । गोष्ठीमा गत वर्ष गएको भूकम्पका समयमा सुरक्षाकर्मीले निर्वाह गरेका भूमिका र भविष्यमा हुन सक्ने विपद्का पूर्वतयारीका विषयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले जानकारी गराउनुभएको थियो । त्यसैगरी ब्रिटिस रेडक्रस र युएस एडका प्रतिनिधिले विपद्का समयमा समुदायमा कसरी सञ्चार गर्ने भन्ने विषयमा प्रस्तुति दिनुभएको थियो ।
इन्स्टिच्युटका अध्यक्ष राम थपलियाले विपद् व्यवस्थापनका सूचना जनतामा प्रवाह गर्दा ध्यान दिनुपर्ने विषयमा भएको छलफलले आगामी दिनमा अपनाउनुपर्ने सावधानी र सजगताको उपाय सिकाएको बताउनुभयो । गोष्ठीमा संयुक्त राष्ट्र सङ्घ, अमेरिकी सहयोग नियोग (युएसएआइडी), नेपालस्थित जापानी राजदूतावास, युरोपेली सङ्घ, रेडक्रस, आइएफआरसीलगायत संस्था, प्राध्यापक, भूगर्भविद् र सरकारी निकायका प्रतिनिधि र विपद्का विषयमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो ।
वि.सं.२०७३ माघ २० बिहीवार १४:३६ मा प्रकाशित