वैशाख १, काठमाडौं । नयाँ वर्षको दिन देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा धेरै आक्रोश सभामुख अग्निप्रसाद सापकोटामाथि पोखे । उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत गर्न सापकोटाले अवरोध गर्दै आएको आरोप लगाए । संसदमा टेबल गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्ने अधिकार कसैसँग नहुने भनाई उनको छ ।
‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो, त्यो संसदमा टेबल गरेका छौं, निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं’, बुधबारको सम्बोधनका क्रममा उनले भनेका छन्, ‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने अधिकार कसैसँग हुँदैन, त्यो प्रस्तुत गर्नैपर्ने हुन्छ तर संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामी झेलिरहेका छौं ।’
प्रधानमन्त्री ओलीले यसअघि पनि सार्वजनिक रुपमै एमसीसी सम्झौता अगाडि बढाउन सभामुखले बाधा गरिरहेको आरोप लगाएका थिए ।
एमसीसीले फुट्न सक्छ दलीय गठबन्धन
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकिकृत अवस्थामै रहँदा विवादको जड एमसीसी बनेको थियो । नेकपा विभाजन हुँदै गर्दा एमसीसी पक्षधर एकातिर र एमसीसी विरोधी अर्को तिर देखिएका थिए ।
तत्कालिन नेकपा विभाजनको भित्रि अस्त्र बनेको एमसीसी मुद्दा अहिले ओली सरकार परिवर्तन गर्ने ध्याउन्नमा बनेको तीन दलीय गठबन्धन फुटाउन सक्ने सम्भावित अस्त्र बन्न सक्ने देखिएको छ । अहिले ओली सरकारको विकल्प दिनेबारे नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच छलफल जारी छ । तीन दलबीच अन्तिम सहमतीको प्रर्यत्न पनि भईरहेको छ ।
तीन दलबीच सहमतीको प्रर्यत्न भईरहेको बेला एमसीसी मुद्दा गठबन्धन टुटाउने अस्त्र बन्ने सम्भावना देखिएको छ । गठबन्धनले मुर्त रुप लिने कसरत भईरहेका बेला प्रधानमन्त्रीले एमसीसी सम्झौतालाई राजनीतिक अस्त्रको रुपमा प्रयोग गर्ने तयारी थालेका छन् ।
राजनीतिक विश्लेषक मुकुन्द आचार्यअनुसार यदि एमसीसी सम्झौता अगाडि बढाउने तयारी भयो भने गठबन्धन तत्कालै फुट्न सक्छ । किनभने गठबन्धनको मुख्य पार्टी कांग्रेस एमसीसी पारित गराउने पक्षमा छ भने माओवादी केन्द्र एमसीसी विफल गराउने पक्षमा छ । यस्तोमा एमसीसी सम्झौता संसदमा अगाडि बढ्ने अवस्था रह्यो भने गठबन्धन विभाजन हुने अवस्था रहन्छ ।
एमसीसी सम्झौताकै कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको थियो । अदालतको आदेशसँगै ब्यूँतिएको नेकपा (एमाले) पनि एमसीसी मुद्दामा विभाजित छ । यदि एमसीसीलाई अगाडि बढाउन सकेमा एमालेलाई एकिकृत बनाउन र सत्ता जोगाउन भने ओलीलाई सहज हुनेछ । किनकी एमसीसीकै कारण नयाँ सत्ता समीकरणको उदय हुने सम्भावना प्रबल छ ।
एमसीसी अगाडि बढाउँदा बच्न सक्छ ओलीको सत्ता
एमसीसी सम्झौतालाई संसदमा निर्णयार्थ पेस गर्ने अवस्था बनेमा तीन दलीय गठबन्धन भंग हुने मात्रै होइन् प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टी एकढिक्का रहेको देखाउने अवसरसमेत हुनेछ । संसदमा निर्णयार्थ पेस हुने अवस्थामा ओलीले संसदीय दलको अधिकारलाई प्रयोग गर्दै एमसीसीको पक्षमा ह्वीप लगाउन सक्ने हुँदा एमालेभित्रको कित्ता स्पष्ट हुनेसमेत धेरैको बुझाई छ ।
एमसीसी सम्झौताप्रति प्रमुख प्रतिपक्षी कांग्रेस पनि सहमत छ । यदि एमसीसी सम्झौता अगाडि बढ्ने अवस्थामा एमाले ओली अनुकुल एकिकृत मात्र नभई सत्ता समिकरण पनि परिवर्तन हुने राजनीतिक विश्लेषकको भनाई छ ।
सर्वोच्च अदालतको आदेशसँगै ब्यूँतिएको नेकपा (एमाले)भित्रको विवाद विभाजनको अवस्थामा छ । कतिपयको धारणाअनुसार माधवकुमार नेपाल पक्ष एमसीसी मुद्दाकै कारण स्पष्ट बन्ने अवस्था पनि आउनेछ । जुन ओलीको लागि पार्टीलाई एकिकृत बनाउने अवसर पनि हो ।
तर, बल सभामुखकै कोर्टमा
तत्कालिन सभामुख कृष्णबहादुर महराको पद एमसीसी मुद्दाकै कारण गएको कतिपयको धारणा छ । प्रधानमन्त्री ओली र पूर्वसभामुख महराबीच एमसीसी अगाडि बढाउने विषयमा निकै तिक्ततापूर्णं विवाद सार्वजनिक रुपमै देखिएको थियो । बलात्कार प्रयासको मुद्दामा पक्राउ परेसँगै ओलीले उनीमाथि सार्वजनिक रुपमै एमसीसी सम्झौतालाई अगाडि बढाउन बाधा पुर्याएकाे आरोप लगाएका थिए ।
वामपन्थी विश्लेषक श्याम श्रेष्ठ सर्वोच्चको आदेशसँगै ब्यूँतिएको नेकपा (माओवादी केन्द्र) एमसीसी सम्झौतालाई संशोधन बिना पास गराउने योजनामा छैन् । माओवादी केन्द्र निकटका सभामुख सापकोटा पनि पार्टीको एजेण्डाभन्दा बाहिर छैनन् ।
उनका अनुसार माओवादी केन्द्रले आफुँ अनुकुल नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन दिँदैन् । सभामुख सापकोटाले पनि स्पष्ट रुपमै दलिय सहमतीको विषय उठान गरेका छन् ।
तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ भदौ २०७४ मा एमसीसीको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । साढे ३ वर्षअघि हस्ताक्षर गरिएको उक्त सम्झौता राजनीतिक दलहरु बीचको असहमतीका कारण पारित हुन सकेको छैन् ।
वि.सं.२०७८ वैशाख १ बुधवार १३:१८ मा प्रकाशित
























