७ जेठ, काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपतिलाई महाअभियोगको प्रस्तावबाट हटाएर मुलुकलाई संकटबाट बचाउनुपर्ने माग गरेका छन् ।
संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत रहेको भन्दै तरुण दलले यस्तो माग गरेको हो ।
‘सम्माननिय राष्ट्रपतिज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।’ अध्यक्ष जित जङ्ग बस्नेतले भनेका छन् ।
तरुण दलले संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरि घात भएको र यो संविधान विरुद्धको अपराध रहेको समेत ठहर गरेको छ ।
‘देश र जनता कोरोना भाईरसको महामारीसंग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानबिय र संविधानको मर्म बिपरितका गतिविधिहरु जालसाजीपूर्ण गतिविधि हुन । अध्यक्ष बस्नेतद्धारा विहीबार बेलुका जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै संविधानका प्रक्रियाहरु मुलुक संचालनका विधि र व्यवहार हुन । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेद जनक छ ।’
संसदीय मूल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नुपर्छ भन्ने मान्यता नेपाल तरुण दलले राखेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार ०७:१२ मा प्रकाशित






























