८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवाले राष्ट्रपतिलाई तपाई भनेर सम्बोधन नगरेको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा नोपली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्यमा राष्ट्रपतिलाई ‘तपाईसम्म भन्ने सभ्यता’ नेपाली कांग्रेसमा नरहेको बताएका छन् ।
‘सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा तिमी, उनी, यसो गरिन् यस्तो भाषा बोलिएको छ,’ प्रधानमन्त्रीले भने, ‘सामान्तवाद प्रतिको दलाली त्यस ठाउँमा एउटा कुलिन घरानिया जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तको आधारमा आएको कुनै नारायक पात्र राजा नामको कोही व्यक्ति हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलेर निहुरिएर गुडुल्किएर हात मुसारेर के–के भाषा बोल्थे यीनै मान्छेहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नहुँदैन भन्ने ठान्छन् । तपाई पनि भन्नु हुँदैन राष्ट्र प्रमुखलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् ।’
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसको त्यसस्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ र व्यापकता कहासम्म पुगेको रहेछ भन्नेमा अचम्म लागेको समेत बताए ।
वि.सं.२०७८ जेठ ८ शनिवार १६:२६ मा प्रकाशित






























