जेठ १०, काठमाडौं । नेकपा (एमाले)भित्रको शक्ति संघर्ष चरम अवस्थामा छ । शक्ति संघर्ष विभाजन घोषणा उन्मुख देखिन्छ । पार्टीभित्रका दुई पक्ष (केपी शर्मा ओली र माधवकुमार नेपाल)ले लिएका पछिल्ला निर्णयहरु एकताबद्ध नभई फुटाउने दिशामा मात्रै उन्मुख छन् ।
फुटको नजिक पुग्दै गर्दा एमालेभित्र समूह परिवर्तन गर्ने लहर चल्न थालेको छ । विशेषतः पछिल्ला निर्णयहरुसँगै माधव समूह छाड्नेको संख्या बढ्न थालेको छ ।
संसद पुनःस्थापनादेखि संसद विघटनसम्म आउँदा दर्जन बढि केन्द्रीय नेताहरुले माधव नेपालको साथ छाडेका छन् । ढुलमुले देखिएका कतिपय नेताहरु पनि स्पष्ट रुपमा ओली समूह प्रवेश गरेका छन् ।
ओली समूहमा भविष्य देख्नेहरु बढे
संसद विघटनसँगै विभाजित हुन पुगेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा माधव पक्षको पछाडि झण्डै ४० सांसद उभिएका थिए । अलमल परेका केहि सांसद पनि संसद पुनः स्थापना भएसँगै माधव समूहमा आउँछन् भन्ने धेरैको बुझाई थियो ।
तर, संसद पुनःस्थापना हुँदै एमाले र माओवादी साबिक अवस्थामा फर्कँदा माधव समूह छाड्ने लहर सुरु भयो । केन्द्र, प्रदेश र जिल्ला तहमा पनि त्यसको प्रभाव राम्रोसँग देखियो ।
राष्ट्रिय कार्यकर्ता भेलादेखि देउवालाई प्रधानमन्त्री बनाउनेसम्मको निर्णयमा आइपुग्दा दर्जनौं सांसद र केन्द्रीय नेताहरुले माधव समूह छाडेका छन् । माधव समूहभित्र निकै विश्वालिया मानिएका कतिपय नेताहरुले समेत ओली समूह रोज्न थालेका छन् ।
राष्ट्रिय कार्यकर्ता भेलादेखि मात्रै १४ सांसदले छाडे माधव समूह
अदालतको आदेशसँगै ब्यूँतिएको एमालेमा ओलीले गरेका एकपक्षीय निर्णयहरुको विरोध गर्दै माधव समूहले गत चैत ३ देखि ५ सम्म राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । उक्त कार्यकर्ता भेलाले माधव समूहमा निकै उत्साह पनि सिर्जना गराएको थियो । भेलामा एमालेका ३७ सांसद उपस्थित थिए भने दर्जनौं केन्द्रीय नेता सहभागी थिए ।
तर, भेलाले लिएका निर्णयहरुको मसि सुक्न नपाउँदै माधव समूह छाड्ने लहर नै चल्न थाल्यो । राष्ट्रिय कार्यकर्ता भेला गरेको २ महिना नपुग्दै ९ सांसदले घोषित रुपमै समूह परित्याग गरे । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको प्रतिनिधि सभा बैठकलाई माधव समूहका २८ सांसदले मात्रै बहिस्कार गरेका थिए ।
विश्वासको मत नदिएका माधव समूहका केहि सांसद पछिल्लो घटनाक्रमसँगै भने फेरि ओलीलाई नै साथ दिने अवस्थामा पुगेका छन् । संसद पुनः स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग राख्दै गरिएको रिटमा माधव पक्षका २३ सांसद मात्रै उभिएका हुन् ।
संसद पुनःस्थापनाको मागमा आउँदा २३ सांसद मात्रै
पछिल्लो अवस्थासम्म आउँदा माधव नेपाल पक्षमा मात्रै २३ सांसद देखिएका छन् । तर, अझै पनि केहि सांसद ‘बारगेनिङ्ग’को अवस्थामा रहेको देखिन्छन् ।
संसद पुनः स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग राख्दै गरिएको रिटमा पनि अन्तिमसम्म नै ३ सांसद सहमत देखिएका थिएनन् । रिटमा हस्ताक्षर गर्न असहमत देखिएका नेता सुरेन्द्र पाण्डेले तीन पटकसम्म माधव नेपालसँग वार्ता गरेको कुरा सार्वजनिक भएको छ ।
सोमबार सर्वोच्चमा दर्ता भएको रिटमा माधव नेपालसहित झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, झपट रावल, कृष्णलाल मर्हजन, जीवनराम श्रेष्ठ, पुष्पा कुमारी कर्ण कायस्थ, कलिला खातुन, दीपकप्रकाश भट्ट, निरादेवी जैरु, लक्ष्मी चौधरी, कल्याणी खड्का, सरला यादव, यज्ञ सुनुवार, नारायण खतिवडा, मेटमणि चौधरी र भवानीप्रसाद खापुङले हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७८ जेठ १० सोमवार १७:१६ मा प्रकाशित






























