१० जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भिम रावलले संसद पुर्नस्थापनाका लागि आफुहले दायर गरेको रिट निवेदन नेपालको संविधान र लोकतन्त्र रक्षाका लागि महत्वपूर्ण सावित हुने बताएका छन् ।
विपक्षी गठबन्धनका तर्फबाट रिट निवेदनसहित सर्वोच्च अदालततमा उपस्थित भएका डा. रावलले रिट दर्ता गरेपछि संचारकर्मीसँग बोल्दै १४६ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेको बताए ।
उनले केही सांसद कोरोना संक्रमणका कारण अदालतमा उपस्थित हुन नसकेपनि उनीहरुले चिकित्सकको मेडिकल रिर्पोट र प्रमाणसहित सहमति जनाएको पनि जानकारी दिए ।
नेता रावलले नयाँ सरकार गठनका लागि विकल्प दिन भन्दै पठाइएको राष्ट्रपतिको पत्र बमोजिम १५१ जना प्रतिनिधिसभाका सदस्यहरुको हस्ताक्षरसहित कांग्रेस सभापति शेर बहादुर देउवलाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष दावी पेश गरेपनि त्यसमा प्रवेशै नगरी राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेमतो गरेर संविधान मिचेर मध्रातमा प्रतिनिधिसभा विघटन गरेको भन्दै आपत्ति जनाए ।
‘नेपाली जनताले कठोर संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धि नेपालको संविधानलाई कुल्चने काम गर्नु भयो त्यसको विरुद्धमा अन्य राजनीतिक दलहरु तथा हामी नेकपा एमालेका सांसदहरुले त्यसको विरोध गर्यौै । राष्ट्रपति र प्रधानमन्त्रीले संविधान विपरित गरेका क्रियाकलापहरु तथा अलोकतान्त्रिक निर्णयका विरुद्धमा हामीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हौं ।’ उनले भने ।
वि.सं.२०७८ जेठ १० सोमवार १६:३७ मा प्रकाशित





























