१० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीले आगामी चारहप्तामा कोरोना संक्रमण दर घट्दै जाने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयमा आयोजित सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा नेपालमा देखिएको नयाँ भेरियन्ट बि.१.६१७.२ मुख्यरुपमा फैलिएको बताउँदै यो पहिलेको भेरियन्ट भन्दा बढी संक्रामक र घातक पनि रहेको बताए ।
मन्त्री त्रिपाठीले उक्त भेरियन्टले नेपाली समाजलाई आक्रान्त पारेको बताउँदै मानिसहरुको आवतजावतमा कमी नभएको तथा केही कार्यालयहरु सुचारु रहेको अवस्थामा संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको समेत बताए ।
उनले हाल देशैभरी १ लाख १५ हजार ५४७ जना संक्रिय संक्रमित रहेको बताए । ती मध्ये १ लाख ८ हजार १९८ जना होम आइसोलेशनमा र अस्पताल तथा संस्थतागत आइसोलेशनमा ७,३५० जना रहेको बताए ।
आइसीयुमा १ हजार ७२१ जना र भेन्टिलेटरमा ४८४ जना रहेको बताउँदै विगत १ साताको तथ्यांक हेर्दा दैनिक औसत ८,३०० नयाँ संक्रमितहरु थपिने गरेको मन्त्रालयको तथ्यांक रहेको बताए ।
वि.सं.२०७८ जेठ १० सोमवार १६:५१ मा प्रकाशित






























