११ जेठ, काठमाडौं । नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिद्धारा गरिएको ससंद विघटनको असंबैधानिक कदमविरुद्ध संयुक्त संघर्षका कार्यक्रम अगाडि बढाउन आफ्ना जिल्ला समितिहरुलाई अपिल गरेको छ ।
तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले विभिन्न दलका युवा संगठनहरु, योङ कम्युनिष्ट नेपाल (वाइसीएल), समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशिल साझा युवा संगठन संग समन्वय गरेर अगाडि बढ्ने निर्णय अनुसार आफ्ना जिल्ला समितिलाई उल्लेखित सहकार्य गर्न आग्रह गरेका छन् ।
‘कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपूर्ण यस अवस्थामा जनतालाई सहज उपचारको व्यवस्था मिलाउने कार्यलाइ बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड अक्षम्य अपराध हो,’ अध्यक्ष बस्नेतद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल तरुण दलले नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा नेपाल तरुण दलसंग सहकार्य गर्ने अन्य राजनीतिक दलका युवा संगठनहरु योङ कम्युनिष्ट नेपाल (वाइसीएल) समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशिल साझा युवा संगठन संग समन्वय र छलफल अघि बढिसकेको कुरा यहाँहरुलाइ सर्बबिधितै छ ।
जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वेच्छाचारी र प्रतिगामी भएको ठहर गर्दै आपत्ति जनाउँदै आएको छ ।

वि.सं.२०७८ जेठ ११ मंगलवार ०९:०९ मा प्रकाशित






























