१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रन आग्रह गरेका छन् ।
गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु एक मात्र विकल्प रहेको बताएका छन् । ।
‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ,’ उनले भनेका छन्, ‘त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं । बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउँदैन ।’ अध्यक्ष प्रचण्डले भनेका छन् ।
अध्यक्ष प्रचण्डले आजै परेको किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरस (कोभिड–१९)को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन अनुरोध गरेका छन् ।


वि.सं.२०७८ जेठ १२ बुधवार ०९:५१ मा प्रकाशित






























