जेठ १७, काठमाडौं । कोरोना भाइरसको उत्पत्तीको विषयमा विभिन्न सबालहरु उठिरहेका बेला चीनमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनको गुआंगदोंग प्रान्तमा हराएको कोरोनाको संक्रमण फेरि देखिएको हो । चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार उक्त क्षेत्रमा संक्रमण दर बढ्ने जोखिम तिव्र भएका कारण सरकारले लकडाउन लगाएको हो ।
गत ३० मईमा कोरोना भाइरसका २७ नयाँ संक्रमित भेटिएका थिए । जहाँ भेटिएका २७ संक्रमितमध्ये ७ जना बाहिरबाट आएका थिए ।
ग्लोबल टाइम्सले जनाएअनुसार झण्डै डेढ करोडको आवादी रहेको गुआंगदोंगमा संक्रमण आक्रामक रुपमा फैलिएको जानकारी पाएसँगै सरकारले लकडाउन घोषणा गरेको हो । लकडाउनसँगै बजार, विद्यालय, मनोरञ्जन स्थल सबै बन्द गरिएका छन् ।
सरकारले अहिले जिल्लागत रुपमा परिक्षण कार्यक्रमलाई अगाडि बढाएको बुझिएको छ । लकडाउनसँगै बाहिरी क्षेत्रबाट आवतजावतमा पनि बन्द गरिएको छ ।
कोरोनाको उत्पत्ती भएको चीनमा निकै छोटो समयमा रोकथाम तथा नियन्त्रण अभियान पनि सफल भएको थियो । विश्व कोरोना महामारीले आक्रान्त बन्दै गर्दा चीन खुल्ला हुँदै गएको थियो ।
वि.सं.२०७८ जेठ १७ सोमवार १४:०३ मा प्रकाशित






























