१८ जेठ, काठमाडौं । सरकार र थारु कल्याणकारिणीसभा, थारुहट/थारुवान संयुक्त संघर्ष समितिका वीच ६ बुँदे सहमति भएको छ ।
दुवैतर्फबीच मंगलबार भएको वार्तामा सहमतिमा थरुहट÷थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित ई.धनीराम चौधरी, रेशमलाल चौधरी, लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संबिधान र कानुन सम्मत पहल गरिने सहमति भएको छ ।
त्यसैगरी थरुहट/थारुवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाईतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने तथा महिला र असहायमाथि दुव्र्यवहार गर्नेलाई छानविन गरी दायरामा ल्याउने सहमति भएको छ ।
सरकारका तर्फबाट कानुन न्याय संसदीय मामिला मन्त्री तथा वार्ता टोलीका प्रमुख लिलानाथ श्रेष्ठ, सदस्य राजन भट्टराई र भगवती चौधरी रहेका थिए भने थारु कल्याणकारिणी सभा, थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ता टोलीकी प्रमुख रुक्मणि चौधरी र सदस्यहरु प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्र प्रसाद चौधरी रहेका थिए ।
वि.सं.२०७८ जेठ १८ मंगलवार १४:२५ मा प्रकाशित






























