जेठ २१, काठमाडौं । नागरिकतासम्बन्धी अध्यादेशविरुद्व परेका रिटको सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् । उनले आफ्नो नेतृत्वमा वरिष्ठ न्यायाधीशहरुलाई समेटेर इजलास गठन गरेका हुन् ।
राणा नेतृत्वमा गठित इजलासमा वरिष्ठ न्यायाधिशहरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन् । वरिष्ठमध्येका एक विश्वम्भर श्रेष्ठ आइसोलेसनमा रहेको कारण वरिष्ठ खतिवडा तोकिएका हुन् ।
यसअघि प्रतिनिधि सभा विघटनविरुद्व परेका रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन नभएको भन्दै आलोचना भएको थियो । विघटनविरुद्व सुनुवाई गर्न गठन गरिएको इजलासमा न्यायाधीशहरुमाथि नै प्रश्न उठेपछि सुनुवाई प्रक्रिया नै रोकिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ मा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् । उक्त अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको छ ।
अध्यादेशमा मुख्यतः जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिने र नेपाली आमाबाट जन्मेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने उल्लेख छ ।
वि.सं.२०७८ जेठ २१ शुक्रवार १२:५९ मा प्रकाशित






























