२१ जेठ, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङमार्फत अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने ‘पेडे लोन’ नामक नायँ योजना सार्वजनिक गरेको छ । एफवान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकायमा बैंकले ग्राहकलाई यस्तो सुविधा प्रदान गर्न लागेको हो ।
बिहिबार जेठ २० गते बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले “पेडे लोन” योजना सार्वजनिक गरेका हुन ।
बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि अधिकतम रु। २ लाख सम्म मोबाइल बैकिङ्गबाट “पेडे लोन” सुविधा सहजै प्राप्त गर्न सक्नेछन भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु नपर्ने बैंकले जनाएको छ ।
बैंकमा दुई वर्षदेखि नियमित तलब खाता प्रयोग गरीरहेका ग्राहकले कर्जा चाहिए बैंकको मोबाइल एपबाट आवेदन दिन सक्नेछन् । कर्जाका लागि योग्य ग्राहक हो भने बैंकले नै लोन आवेदन गर्न मोबाइलमा सन्देश पठाउने बैँकले जनाएको छ ।
बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले “पेडे लोन” योजना संचालनमा ल्याएको हो ।
वि.सं.२०७८ जेठ २१ शुक्रवार १३:०५ मा प्रकाशित




























