जेठ २३, काठमाडौं । अध्यादेशमार्फत ल्याइएको बजेट विवादास्पद एमसीसी परियोजना र चुरे खत्खनन्का कार्यक्रम समेटिएको भन्दै २२ दलीय गठबन्धनले आपत्ती जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धनले दुवै कार्यक्रम तत्कालै फिर्ता लिन पनि माग गरेको छ ।
‘ओली सरकारले अध्यादेशमार्फत ल्याएको २०७८/०७९ को बजेटप्रति हाम्रो विरोध रहेको कुरा वक्तव्यहरुबाट सार्वजनिक भएकै छ’, गठबन्धनले जारी विज्ञप्तीमा भनिएको छ, ‘संसदबाट पारित नै नभउको राष्ट्रिय हित विपरीतको एमसीसी परियोजनाअन्तर्गतको विद्युत्को हाई टेन्सन लाइनका लागि रकम विनियोजन गर्ने तथा विदेश व्यापारको घाटा कम गर्ने भन्ने बहानामा हाम्रो देशको चुरे पहाडको दोहन गरी ढुंगा, गिट्टी र बालुवा विदेश निकासी गर्ने भन्ने योजना दुवै राष्ट्रघाती भएका हुनाले यी दुवैलाई खारेज गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’
गठबन्धनले कार्यक्रम उक्त कार्यक्रमहरु फिर्ता नलिए आक्रामक आन्दोलन गर्ने पनि चेतावनी दिएको छ । ‘यदि खारेज गरिएन वा यसलाई फिर्ता लिइएन भने त्यसबाट उत्पन्न हुने सम्पूर्णं परिस्थितिका लागि सरकार जिम्मेवार हुने कुरा हामी स्पष्ट गर्न चाहन्छौं’, विज्ञप्तीमा भनिएको छ ।
यस्तो छ विज्ञप्ती

वि.सं.२०७८ जेठ २३ आइतवार १५:०५ मा प्रकाशित






























