२८ जेठ, पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पद मुक्त भएका छन् । यसअघि पार्टी निर्देशन नमानेको भन्दै सांसद पदबाट हटाइएका थापालाई गत आइतबार सर्वोच्च अदालतले पदमा पुर्नबहाली गरेको थियो ।
शुक्रबारको संसद बैठकमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उनी पदमुक्त भएको सूचना पढेर सुनाएका हुन् । सभामुख अधिकारीले दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम थापा सांसद पदबाट मुक्त भएको सूचना सुनाएका हुन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत माग्दा बिहीबार थापा तटस्थ बसेका थिए ।
बागलुङ क्षेत्र नं १ को ख बाट निर्वाचित सांसद थापालाइ यसअघि मुख्यमन्त्री गुरुङले मागेको विश्वासको मतका विपक्षमा जनमोर्चाले मत हाल्न भनेपनि थापा तटस्थ बसेपछि पार्टीले सांसद पदबाट हटाएको थियो ।
सांसद पदबाट पार्टीले हटाएपछि उनले पद पुर्नबहालीका लागि सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले गत आइतबार उनको पक्षमा फैसला सुनाउँदै पुर्नबहाली गरेको थियो ।
वि.सं.२०७८ जेठ २८ शुक्रवार १३:४२ मा प्रकाशित




























