असार १, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कानून व्यवसायीसँग परामर्श लिएका छन् । निर्वाचन आयोगको निर्णय पछि आगामी कदमबारे उनले कानून व्यवसायीसँग परामर्श लिएका हुन् ।
निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसहित ठाकुर–महतो पक्षका ११ जना नेतालाई गरिएको कारबाहीले मान्यता नपाउने निर्णय सुनाएको थियो । अध्यक्ष यादवले आज विज्ञप्ति जारी गर्दै आयोगको निर्णय मान्य नुहेन भन्दै राजनीतिक र कानुनी लडाईं लड्ने घोषणा गरेका थिए । जुन घोषणा लगत्तै उनले कानूनविद्सँग परामर्श गरेका हुन् ।
कानून व्यवसायीसँग गरिएको छलफलमा यादवसहित केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र श्रेष्ठसहितका नेताहरू सहभागी थिए ।
पार्टीको आधिकारिकता दाबी गर्न सुझाब
निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्ट देखिएको यादव समूहलाई कानून विद्हरुले भने पुनः आयोगमै पार्टी आधिकारिताको दाबी गर्न सुझाब दिएका छन् । यादव समूहका एक नेताले बताएअनुसार कानून विद्हरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार बहुमतको आधारमा पार्टीको आधिकारिताको दाबी गर्न सुझाब दिएका हुन् ।
कानून विद्हरुले अदालती प्रक्रिया ढिलो हुने सुझाब दिएको बताइएको छ । ती नेताले बताएअनुसार कानून विद्हरु सुझाबका आधारमा समूह छिट्टै बैठक बसेर आगामी रणनीति तयार गर्नेछ ।
वि.सं.२०७८ असार १ मंगलवार १८:१४ मा प्रकाशित






























