असार २, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । उनले आगामी शुक्रबार विश्वासको मत माग्न लागिएको पत्र प्रदेशसभामा मंगलबार दर्ता गराएका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, उनले लगत्तै विश्वासको मत लिन लागेका हुन् ।
पोखरेल अनुकुल छ समिकरण
मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउने निश्चित देखिएको छ । ५९ सदस्यीय प्रदेशसभामा बहुमत देखाउन ३० सांसदको समर्थन हुनपर्छ । जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्ती हुँदा उनको पक्षमा ३१ सांसद देखिएका थिए ।
कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका दुई/दुई र एक स्वतन्त्र सांसद गरेर मुख्यमन्त्री पोखरेललाई ३१ सांसदको समर्थन छ ।
कानूनतः एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर मुख्यमन्त्रीले नियुक्तीको एक सातामै विश्वासको मत लिन खोजेका छन् । जसलाई केहि अर्थपूर्णं रुपमा पनि लिइएको छ । विपक्षीहरुले समर्थक भाँडिने आशंकामा लगत्तै मत लिन खोजिएको टिप्पणी पनि गरेका छन् ।
वि.सं.२०७८ असार २ बुधवार १५:०३ मा प्रकाशित






























