असार २, काठमाडौं । नेकपा (एमाले)का नेता झलनाथ खनालले एमालेको एकताका लागि आव्हान गरेका छन् । बुधबार स्वास्थ्य उपचारका लागि दिल्ली जाँदाजाँदै उनले पार्टी एकताको आव्हान गरेका हुन् ।
खनालले अहंकार र बदलाभाव त्यागेर एकताबद्ध हुन आह्वान गरेका छन्। ‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आहृवान गर्न चाहन्छु,’ बुधबार दिउँसो वक्तव्य जारी गर्दै उनले भनेका छन् ।
विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएकोले देशको समस्या समाधानका लागि एकजुट हुन सबै दल र नेतालाई आहृवान गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्छ । सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु ।’
दिल्ली जानुअघि खनालले एमाले महासचिव ईश्वर पोखरेललाई पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि लाग्न आग्रह गरेका थिए। पोखरेल खनाललाई भेट्न नर्भिक अस्पाताल पुगेका थिए।
यस्तो छ खनालले जारी गरेको विज्ञप्ती

वि.सं.२०७८ असार २ बुधवार १५:३७ मा प्रकाशित






























