back
CTIZAN AD

तिनाउ नदीले खतराको तह छुन लागेको भन्दै सतर्क रहन नगरप्रमुखको अनुरोध

वि.सं.२०७८ असार २ बुधवार

864 

shares

२ असार, काठमाडौं । लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।

वर्षाले गुल्मीको काली गण्डकी नदी, बढीघाट खोला, रुपन्देहीको तिनाउ नदीमा जल सतह बढेकाले आसपासका बस्ती असुरक्षित भएका छन् । राप्ती नदीमा पानीको सहत बढेपछि बाँके र दाङका दर्जनौँ बस्ती जोखिममा छन् । बुटवलमा तिनाउ नदीले खतराको तह छुन लागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

नगरप्रमुख शिवराज सुवेदीले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेका छन् । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना सङ्कलनका लागि खटाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

यस्तो छ लुम्बिनी प्रदेशभरी नै वर्षाको प्रभाव
गुल्मीको बढीगाड नदीमा बाढी आउने सम्भावना रहेको भन्दै जन तथा मौसम विज्ञान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पाल्पास्थित रुद्रबेनी जलमापन केन्द्रले बढीगाडमा पानीले जलसतहले सतर्कता तह पार गरेकाले बाढी आउने सम्भावना बढेको महाखाले जनाएको छ ।

वर्षासँगै हिजोदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्ग अझैसम्म खुल्न सकेको छैन । रुपन्देहीको देवदह–बुटवल सडक खण्डअन्तर्गत चरङ्गे नजीकै डाइभर्शन गरेको सडक भाँसिएपछि बुटवल– नारायणगढ सडक बन्द भएको हो ।

May be an image of road and tree

यस्तै अविरल वर्षासँगै खसेको पहिराका कारण पाल्पा–बुटवल सडकखण्ड पनि अवरुद्ध छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ । डुम्रे खोलामा पानीको बहाव बढेको र माथिबाट खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको थियो ।

मङ्गलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान शुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । मङ्गलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् ।

यसैगरी लगातार परेको वर्षाका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुर डुबानमा परेको छ । तिनाउ र दानव नदीको सङ्गमस्थल दुई मुहानदेखि तीन किलोमिटर तल रहेको उक्त गाउँमा मङ्गलबार राति बाढी पसेको हो ।

घरहरुमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल दुईमोहानको टोलीले डुबान क्षेत्रमा परेकालाई उद्वार गरेको छ । अहिले पनि उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकाले इलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्धारमा खटेको छ । सो टोलीले दुईदिने सुत्केरीसहित सात जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।

May be an image of body of water

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरको कुमार मल्लाह, भुलई धुनियाँ, बिपत धुनियाँ, चिनक धुनियाँ, अजित धुनियाँ, बिहरी मल्लाह, बगेद मल्लाह, लक्ष्मण मल्लाह र जगतपाल मल्लाहको घरमा पानी पसेको वडाध्यक्ष रमेशप्रसाद निसादले जानकारी दिए । डुबानमा परेकामध्ये केहीले छिमेकीको घरमा र केहीले सामुदायिक बीउ भण्डार लगायतका स्थानमा आश्रय लिएका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दा दर्जनौँ गाउँ जोखिममा

तीन दिनदेखिको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि बाँकेका दर्जनौँ गाउँ डुबानको उच्च जोखिममा परेका छन् । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कताको विन्दु पाँच मिटर पार गरिसकेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार वर्षा नरोकिएकाले राप्ती नदीमा जलसतह बढ्दै जाँदा बाढी गाउँ पस्न सक्ने जोखिम बढेको छ । “वर्षा भइरहेको हुँदा राप्ती नदीमा पानीको सतह बढिरहेको छ”, उनले भने “बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र खटिनका लागि तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ ।”

दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । राप्तीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि डुबानको खतरा मानिन्छ । बिहानबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सूचना अधिकृत ज्ञवालीले बताए ।

राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा डुबानमा पर्दै आएका छन् ।

May be an image of nature
तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपत्कालीन तटबन्धका लागि कार्य गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने गरेको उनकोे भनाइ छ ।

बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी मनसुनबाट करीब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

राप्ती नदीको बाढीमा फसेका चारको उद्धार

अविरल वर्षातका कारण दाङको राप्ती नदीमा पानीको बहाव बढेपछि नदीको बीचैमा भैँसी चराउन गएका चार फसेकाको उद्धार गरिएको छ । लमही नगरपालिका–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेला घाटको टापुमा राजपुर गाउँपालिकाका तीन र लमही नगरपालिकाका एकजना फसेका थिए ।

लमही–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर–२ का ४५ वर्षीय सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षीय गणेश यादव नदीको टापुमा भैँसी चराउँदै गरेको अवस्थामा नदीमा पानीको बहाव बढेपछि नदीको बीचैमा फसेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

मङ्गलबार बेलुका टापुमा फसेको जानकारी भए पनि लगातारको वर्षाका कारण उनीहरुको उद्धारमा कठिनाइ भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले बताए । उद्धारका लागि २५ सशस्त्र प्रहरी खटिएको उनले जानकारी दिए ।

वि.सं.२०७८ असार २ बुधवार १७:३१ मा प्रकाशित

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...