back
CTIZAN AD

होटल व्यवसायमा संकट आएपछि हात्तीविहीन सौराहा बन्ने खतरा

वि.सं.२०७८ असार ८ मंगलवार

732 

shares

८ असार, चितवन । निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको हो । कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञासँगै पर्यटन व्यवसाय ठप्प छ ।

सौराहामा निजी क्षेत्रका ५५ वटा हात्ती छन् । निजी हात्ती सञ्चालन गर्नेहरुको संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती पाल्न कठिन भएको बताए । उनका अनुसार दैनिक एउटा हात्तीलाई २० किलो धान, सखर, गहुँलगायत खाद्यान्न, दुई क्वीन्टल हाराहारी घाँस पराल र २५० लिटर पानी आवश्यक पर्दछ । सातामा एक पटक नुन, जुकाको औषधिलगायत सामग्री खुवाइने उनले जानकारी दिए । उनका अनुसार एउटा हात्ती पाल्न मासिक रु. एक लाखभन्दा बढी खर्च हुन्छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र घाँस खेर गएको छ, हामीले हात्तीलाई खुवाउन पाएका छैनौं ।”

कोभिडपछि मात्रै सौराहामा १२ वटा हात्ती विस्थापित भइसकेको उनले जानकारी दिए । व्यवसायीले विस्थापित मात्रै भनेपनि ती हात्ती भाडामा ल्याएका फिर्ता तथा पाल्न नसकेर बिक्री गरेका हुन् । व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रु ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको व्यापार सम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची—१ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची—१ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन् ।

उनले भने, “हात्ती पाल्ने जिम्मेवारी व्यवसायीको मात्रै होइन, यसको दायित्व सबैले वहन गर्नुपर्छ ।” हात्ती विनाको सौराहा कल्पना गर्न नसकिने भन्दै उनले सबैको साथ र सहयोग नपाएमा केही वर्षभित्रमा हात्तीविहीन सौराहा बन्ने खतरा भएको जानकारी दिए । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई चितवन राष्ट्रिय निकुञ्जमा पटक पटक आग्रह गरिएको भए पनि चरिचरणको व्यवस्थापन हुन नसकेको बताए । रकम तिरेर कुमरोज सामुदायिक वनबाट केही घाँस ल्याएको भए पनि पर्याप्तता नभएको उनको भनाइ छ । हात्तीको चरिचरणका लागि राज्यका तर्फबाट सहयोग हुनुपर्ने भट्टराईले बताए । स्थानीय तहले हात्ती राखेबापत कर समेत लिने गरेको भन्दै उनले कर छुट गराउन समेत पहल गरिएको जानकारी दिए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जिल्ला विपद् व्यवस्थान समितिको बैठकमा समेत आफूले निकुञ्जभित्र हात्तीलाई चरिचरणको व्यवस्था गर्न माग गरेको बताए । उनले जनताको जमिन नदी कटान भएर निकुञ्जतर्फ परेको ठाउँमा समेत चरिचरण गर्न नपाएको भन्दै यस्तै अवस्था रहे सौराहाबाट हात्ती विस्थापित हुने चेतावनी दिए । हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुङ्गी हेरेर रमाउने गर्दछन् ।

गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले व्यवसायीले चरनका लागि माग गरेको विषय आफूले निकुञ्ज विभागमा लिखित रुपमा पठाएको भए पनि कुनै निर्णय भइनसकेको बताए । व्यवहारिक रुपमा हात्ती पाल्न कठिन भएपनि नीतिगत रुपमा हात्तीलाई निकुञ्जमा चरणका लागि ठाउँ दिन नसकिएको उहाँको भनाइ छ । उहाँले भने, “माथिल्लो निकायबाट निर्णय हुन सकेमा सहज हुन्थ्यो ।” file photo

वि.सं.२०७८ असार ८ मंगलवार ०८:०१ मा प्रकाशित

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...