back
CTIZAN AD

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

वि.सं.२०८३ जेठ १८ सोमवार

369 

shares

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ ।

रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत–वाखेत–टोड्के सडकअन्तर्गत गहतेचोकदेखि वाखेत हुँदै राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको बेनी नगरपालिका–१० का वडाध्यक्ष मसवीर रोकाले जानकारी दिए ।

“सडक ढलान गरेर पक्की बनाएपछि यसअघि २० मिनेट लाग्ने गहतेचोक–राम्जाली मन्दिर खण्डको यात्रा पाँच मिनेटमा छोटिनुका साथै स्थानीयवासी र टोड्के आवातजावत गर्ने पर्यटकलाई सहज भएको छ”, उनले भने, “राम्जाली मन्दिरदेखि बराहथान हँुदै टोड्के जोड्ने सडक स्तरोन्नति योजनालाई निरन्तता दिन नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरेका छौँ ।”

वाखेत–टोड्के सडक स्तरोन्नति योजना निर्माणका लागि गत माघ १० गते दुप्चेश्वर शुभम् बिल्डर्सले रु दुई करोड ३६ लाख २३ हजार १५२ मा ठेक्का सम्झौता गरेको थियो । एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा दुई महिनाअघिनै सम्पन्न गरेको हो ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुुद लक्ष्यअघिनै काम सम्पन्न गरेको बताए । निर्माण सकिए पनि प्राविधिक नापजाँच र भुक्तानीको काम बाँकी रहेको उनले जानकारी दिए ।

तीन दशमलव पाँचदेखि चार मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ । बेनी नगरपालिका–१० का वडासदस्य बेगम पाइजाले २०६६ सालमा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको बताए ।

पक्की सडक बनेपछि स्थानीयवासी उत्साही भएका छन् । आवतजावत सहज भएको वाखेतका बासिन्दा अर्जुुन पुुनले बताउनुभयो । “साँघुुरो र कच्ची सडकमा यात्रा गर्न असहज भएको थियो”, उनले भने, “सडक ढलान भएपछि यात्राअवधि छोटिनुका साथै सहज भएको छ ।” बेनी नगरपालिका–१० वाखेत, रघुगङ्गा गाउँपालिका–५ झिँ, बेनी नगरपालिका–५ डडुवा, मङ्गला गाउँपालिका–१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् ।

गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।

डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि छ ।

 

वि.सं.२०८३ जेठ १८ सोमवार ०७:३९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...