काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबाट आएको टिप्पणीप्रति प्रश्न उठाएका छन्। उनले नेपाल राज्य नै कमजोर बन्दै गएको अवस्थामा राज्यशक्तिको प्रतीकका रूपमा रहेको सिंहदरबारप्रति नै अनास्था र अविश्वास पैदा गर्ने अभिव्यक्ति कत्तिको उचित हुन्छ भन्ने प्रश्न गरेका हुन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले राज्यको मूल विशेषता नागरिकलाई सुरक्षा र भरोसा प्रदान गर्नु तथा अपराधी र देशद्रोहीमा राज्यको कानुनप्रति भय पैदा गर्न सक्नु भएको बताएका छन्।
उनले सिंहदरबारको प्रसङ्गलाई सिंहको स्वभावसँग जोड्दै लेखेका छन्—सिंह केवल जंगलको शक्तिशाली जनावर मात्र होइन, परम्परागत रूपमा शक्ति, सुरक्षा, अनुशासन र पहरेदारीको प्रतीकका रूपमा समेत स्थापित हुँदै आएको छ।
सिंह सामाजिक समूहमा बस्ने, आफ्नो क्षेत्रको रक्षा गर्ने र समूहको सुरक्षाका लागि सक्रिय रहने जनावर हो। यसको गर्जन निकै टाढासम्म सुनिन्छ, जसले यसको उपस्थिति र प्रभुत्वको संकेत दिन्छ। सिंहको समूहमा भूमिकाको विभाजन पनि देखिन्छ। पोथी सिंहहरूले प्रायः शिकारमा प्रमुख भूमिका खेल्छन् भने भाले सिंहले समूहको सुरक्षा र प्रभुत्व कायम राख्ने भूमिकामा रहने गर्छ।
दिनको समयमा आराम गरेर ऊर्जा सञ्चय गर्ने र रातको समयमा बढी सक्रिय हुने सिंहको स्वभाव पनि रोचक मानिन्छ। आफ्नो क्षेत्रको रक्षा र सीमाभित्रको नियन्त्रणमा उसले विशेष ध्यान दिन्छ।
यिनै विशेषताका कारण प्राचीन समाजले सिंहलाई शक्ति, साहस, सुरक्षा, पहरेदारी र शासनको प्रतीकका रूपमा ग्रहण गरेको हुनसक्ने तर्क गर्न सकिन्छ। त्यसैले नेपालका मठमन्दिरदेखि विभिन्न ऐतिहासिक संरचनासम्म सिंहका आकृतिहरू प्रयोग भएको पाइन्छ।
सिंहदरबार नेपालको आधुनिक राजनीतिक इतिहाससँग गहिरोसँग जोडिएको नाम हो। यो केवल एउटा भवन वा भौतिक संरचनाको नाम मात्र नभएर राज्यसत्ता, शासन व्यवस्था र प्रशासनिक शक्तिको प्रतीकका रूपमा स्थापित भएको छ।
त्यसैले सिंहदरबारको नाम परिवर्तन गर्ने बहसलाई केवल नाम परिवर्तनको विषयका रूपमा मात्र हेर्नुभन्दा यसको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक अर्थसँग जोडेर हेर्नुपर्ने हुन्छ।
वि.सं.२०८३ साउन २५ सोमवार १८:०७ मा प्रकाशित






























