back
CTIZAN AD

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

वि.सं.२०८३ साउन २५ सोमवार

shares

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका बेला कैलालीको घोडाघोडी नगरपालिका–५ का २७ वर्षीय विनोद चौधरी भने गाउँमै बसेर व्यावसायिक माछापालन गरिरहेका छन्। नौ बिघा क्षेत्रफलमा माछापालन गर्दै आएका उनले अहिले वार्षिक करिब २५ लाख रुपैयाँ बचत गर्न थालेका छन् ।

पाँच वर्षअघि बैंकबाट ५० लाख रुपैयाँ कर्जा लिएर व्यवसाय सुरु गरेका चौधरीले माछापालनबाटै आत्मनिर्भर बन्न सफल भएका हुन्। सीमित लगानीबाट सुरु गरेको व्यवसाय विस्तार गर्दै उनले अहिले पाँचवटा ठूला पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेका छन्। पढाइसँगै आम्दानी गर्नुपर्छ भन्ने सोचले माछापालनतर्फ आकर्षित भएका चौधरीको अधिकांश समय अहिले पोखरीमै बित्ने गर्छ। आफ्नै ठाउँमा मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वासका साथ व्यवसाय सुरु गरेका उनी गाउँका अन्य युवालाई पनि स्वरोजगार बन्न प्रेरित गरिरहेका छन् ।

“विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले अघि बढेमा असफल भइँदैन,” चौधरीले भने ।

तर, माछापालन व्यवसाय सुरु गर्नु उनका लागि सहज भने थिएन। पोखरी निर्माण, बाँध व्यवस्थापन, पानी आपूर्ति तथा अन्य भौतिक संरचना तयार गर्न सुरुआतमै ठूलो रकम खर्च गर्नुपरेको थियो। चौधरीले सुरुमा करिब २५ लाख रुपैयाँ लगानी गरेका थिए। त्यसपछि व्यवसाय विस्तार गर्दै जाँदा लगानी थपिँदै गएको थियो।

सुरुआती चरणमा आम्दानीभन्दा खर्च धेरै हुँदा परिवार चलाउनसमेत कठिन भएको उनी सम्झन्छन्। उत्पादन कम हुनु, बजार व्यवस्थापनको अनुभव नहुनु र व्यवसाय टिकाउन निरन्तर लगानी आवश्यक पर्नुले आर्थिक दबाब बढाएको थियो ।

“सुरुमा कमाइभन्दा लगानी धेरै थियो। परिवार चलाउन पनि गाह्रो भयो। व्यवसाय टिकाउन धैर्य चाहिने रहेछ। दुई–तीन वर्षसम्म त नाफा भन्ने कुरा नै भएन,” उनले भने।

व्यवसाय सुरु गरेको पहिलो वर्षमा उत्पादन कम भएकाले वार्षिक करिब पाँच लाख रुपैयाँको माछा बिक्री हुने गरेको थियो। पछिल्ला वर्षमा उत्पादन बढ्दै गएपछि वर्षमा दुई पटकसम्म माछा बिक्री गर्न सक्ने अवस्था बनेको चौधरी बताउँछन्। अहिले उनको वार्षिक आम्दानी करिब २५ लाख रुपैयाँसम्म पुगेको छ ।

बजारमा ताजा माछाको माग निरन्तर बढिरहेको भन्दै उनले गुणस्तरीय उत्पादन गर्न सके अझ राम्रो आम्दानी लिन सकिने सम्भावना रहेको बताए ।

माछापालनमा हरेक वर्ष विभिन्न चुनौतीसमेत आउने गरेका छन्। बर्खामा बाँध भत्किने जोखिम, पानीको सतह नियन्त्रण, पोखरी सफा गर्ने तथा पानीको गुणस्तर कायम राख्न थप खर्च गर्नुपर्ने हुन्छ। यस्ता चुनौतीका बाबजुद निरन्तर मेहनत र उचित व्यवस्थापनले व्यवसायलाई नाफामुखी बनाउन सफल भएको उनको अनुभव छ ।

व्यवसाय सुरु गर्दा आवश्यक प्राविधिक ज्ञानको अभाव रहेको चौधरी बताउँछन्। पछि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त तालिम, प्राविधिक परामर्श तथा अनुभवी किसानबाट सिकेको ज्ञानले माछापालनलाई व्यवस्थित बनाउन सहयोग पुगेको उनले बताए ।

उनका अनुसार माछापालनमा धैर्य, लगनशीलता र सही व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुन्छ। छोटो समयमै राम्रो आम्दानीको अपेक्षा गर्नेभन्दा सुरुका केही वर्ष लगानी र मेहनत गर्न सक्ने किसानले दीर्घकालमा राम्रो प्रतिफल लिन सक्ने उनको बुझाइ छ ।

उनको व्यवसायमा परिवारका सदस्यको पनि सक्रिय साथ छ। दाना व्यवस्थापन, पोखरीको हेरचाह, माछा बिक्रीलगायत दैनिक काममा परिवारका सदस्यले सहयोग गर्दै आएका छन् । परिवारको साथ र निरन्तर मेहनतले व्यवसाय विस्तार गर्न सहज भएको चौधरीले बताए ।

आगामी दिनमा उत्पादन क्षमता बढाउने, आधुनिक प्रविधिको प्रयोग गर्ने तथा थप पोखरी विस्तार गरी माछापालन व्यवसायलाई अझ व्यावसायिक बनाउने उनको योजना छ ।

जोखिम मोलेर सुरु गरेको माछापालन व्यवसायले चौधरीलाई आत्मनिर्भर मात्र बनाएको छैन, गाउँमै बसेर आधुनिक कृषि उद्यममार्फत सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ। वैदेशिक रोजगारीलाई मात्रै सफलताको बाटो ठान्ने युवाका लागि विनोदको यात्रा प्रेरणादायी बनेको छ ।

 

वि.सं.२०८३ साउन २५ सोमवार १३:४९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...