काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ।
नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकोप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोली माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो।
प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार चिनियाँ उद्धार टोलीले सोही दिन आयोजनाको सुरुङ क्षेत्रको रेकी (स्थलगत निरीक्षण) गर्नुका साथै रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको समेत निरीक्षण गरेको थियो। दुवै आयोजनाको अवस्थाबारे स्थलगत जानकारी लिएपछि टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो।
भदौ १४ गते चिनियाँ उद्धार टोली रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा उद्धार कार्यमा केन्द्रित भएको थियो। सोही दिन माथिल्लो त्रिशूली–३ ‘बी’मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धार कार्य सुरु गरेको थियो।
आज बिहान ९ बजेदेखि भैरवनाथ गणका थप १६ जना सैनिक सुरुङ क्षेत्रमा परिचालन भएका छन्। उनीहरूले सुरुङभित्र खन्ने तथा खोजी गर्ने काम गरिरहेका छन्।
बाढीका कारण आयोजनाको सुरुङमा केही मानिस फसेको आशंका गरिएपछि नेपाली सेना र विद्युत प्राधिकरणको टोलीले उद्धार प्रयासलाई प्राथमिकताका साथ अघि बढाएको हो।
वि.सं.२०८३ भदौ १५ सोमवार २०:०१ मा प्रकाशित






























