काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको जनाएको छ।
पार्टी केन्द्रीय समितिको भदौ १५ गते बसेको विशेष भर्चुअल बैठकले कञ्चनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रेस वक्तव्यमार्फत जानकारी दिएको हो।
पार्टीका अनुसार कञ्चनले संगठनात्मक विधि र पद्धतिविपरीत एकल वक्तव्य जारी गर्ने तथा राष्ट्रिय सम्मेलनको पक्षमा रहेका जिम्मेवार नेताहरूलाई कारबाही गर्ने परिपत्र जारी गर्दै आएको आरोप लगाइएको छ। वक्तव्यमा कञ्चनमा लामो समयदेखि ‘गैरमार्क्सवादी प्रवृत्ति’, ‘प्राधिकारवादी व्यक्तिवाद’, षड्यन्त्र, शंका र अपारदर्शिताजस्ता समस्या देखिएको दाबी गरिएको छ।
यसअघि २०८३ साउन १४, १५ र १६ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकले कञ्चनलाई महासचिवबाट हटाउँदै पार्टीलाई अध्यक्ष मण्डल प्रणालीमा रूपान्तरण गरेको थियो।
बैठकले अध्यक्ष मण्डलका सदस्य तथा पार्टी प्रवक्ता दीपकलाई अध्यक्ष मण्डलको अध्यक्ष चयन गरेको छ। साथै पार्टीको राष्ट्रिय सम्मेलन आगामी असोज ५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
त्यस्तै, भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिपछि उद्धार तथा राहतका लागि कृष्ण धमला ‘गम्भीर’को नेतृत्वमा बाढीपीडित उद्धार तथा राहत समिति गठन गरिएको पार्टीले जनाएको छ।
वि.सं.२०८३ भदौ १५ सोमवार १९:४८ मा प्रकाशित






























