हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै काठमाडौं जाने वैकल्पिक सडकमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि नयाँ सवारी आवागमन व्यवस्था लागू गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनाअनुसार सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सवारीको क्षमता तथा विगत दुई दिनको ट्राफिक व्यवस्थापनको अवस्थालाई विश्लेषण गरी नयाँ व्यवस्था गरिएको हो।
ठूला तथा मालवाहक सवारीका लागि १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन हेटौंडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ। काठमाडौं पुगेपछि फर्किँदा भने कान्ति राजमार्ग हुँदै हेटौंडा फर्किने व्यवस्था गरिएको छ।
कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारी साधनले यात्रुको सुरक्षा तथा मौसम र सडकको अवस्थालाई ध्यानमा राख्दै साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।
त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधन हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउनुपर्नेछ। काठमाडौं जाँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनले विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गरेको छ। चालकहरूलाई आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सवारी चालक, यातायात व्यवसायी तथा यात्रुहरूलाई नयाँ व्यवस्थाको पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ।
वि.सं.२०८३ भदौ १५ सोमवार २०:०८ मा प्रकाशित






























