काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धारलाई तीव्रता दिएको छ। भदौ १५ गते साँझ ७ बजेसम्मको विवरणअनुसार सेनाले हवाई साधनमार्फत एक जर्मन नागरिकसहित १०९ जनाको उद्धार गरेको जनाएको छ।
सेनाले दिएको जानकारी अनुसार त्रिशूली–३ ‘ए’ मा सुरुङको हेड फेला पारिएको छ। कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ भने भित्र जमेको पानी निकाल्ने कार्य जारी छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्गसमेत करिब १५ मिटर खोलिएको छ।
त्रिशूली–३ ‘बी’ मा विज्ञसहितको नेपाली सेनाको टोली एक्स्काभेटर प्रयोग गरेर खोज तथा उद्धारमा खटिएको छ।
विदेशी विशेषज्ञसहितको संयुक्त टोली चिलिमे हाइड्रोको सुरुङमा ३५ मिटरभित्र पुगेको छ। टोलीले सुरुङको अगाडिको भाग खुलाउने काम गरिरहेको छ।
अपर त्रिशूली–१ मा संयुक्त खोज तथा उद्धार टोलीले मैलुङतर्फ २०० मिटर र हाँकूतर्फ ३०० मिटर सम्म पुगेर खोजी गरेको छ।
त्यस्तै, रसुवागढी हाइड्रोको सुरुङमा करिब २५० मिटर भित्र पुगेको टोलीले सुरुङको बन्द भाग फेला पारेको छ।
लाङटाङ हाइड्रोको सुरुङमा करिब ६५ मिटर भित्र पुगेको संयुक्त उद्धार टोलीले एक शवसमेत फेला पारेर संकलन गरेको छ।
जमिनमा पनि खोज तथा उद्धार जारी
प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने काम भइरहेको सेनाले जनाएको छ।
खोजीका क्रममा नेपाली सेनाको टोलीले टिमुरे क्षेत्रमा पाँचवटा सेफ फेला पारेको छ। तीमध्ये नेपाली भाषामा लेखिएका तीन र चिनियाँ भाषामा लेखिएका दुई सेफ रहेका छन्। ती सबै सशस्त्र प्रहरी बल नेपाललाई बुझाइएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्रबाट आज १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ।
टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
वि.सं.२०८३ भदौ १५ सोमवार २०:३० मा प्रकाशित






























