८ असार, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल(Madhav Kumar Nepal) ले नेकपा (माओवादी केन्द्र) सँगको एकतामै जोड दिएका छन् ।
मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन आह्वान गरेका उनले ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो’ भन्दै पुन एकतामै जोड दिएका हुन् ।
सर्वोच्चको पछिल्लो निर्णय लगत्तै मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले एकताबद्ध पार्टी र आन्दोलन बनाउन साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एकजुट भएर मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन अपिल समेत गरेका छन् ।
यस्तो छ उनको स्टाटस :
संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन् । सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !
वि.सं.२०७८ असार ८ मंगलवार २१:४५ मा प्रकाशित






























