९ असार, काठमाडौँ । आफूमाथि अन्याय भएको भन्दै नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरी सार्वजनिक रुपमै बोलेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरोले मिति २०७७ बैशाख १७ देखि २०७८ असार ९ गतेसम्म गरेका महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गर्ने क्रममा उनले आफूमाथी अन्याय भएको बताएका हुन् ।
बुधबार उपलब्धिहरु सार्वजनिक गर्नुअघि उनले आफू एसएसपी हुँदा १ नम्बरमा भएपनि डीआईजी हुनबाट संगठन र राज्यले बञ्चित गराएको गुनासो सुनाए । चौधरीले वि.सं २०७४ मा भएको निर्वाचनको कुरालाई लिएर आफ्नो विभेदपूर्ण रुपमा बढुवा माथिल्लो निकायबाटै रोकिएको बताए थिए।
‘निर्वाचनमा नेकपा एमालेकी भगवती चौधरी र नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार उम्मेदवार थिए । चुनावमा गच्छदारको विजय भएपछि म पनि सुनसरीको भएको हुँदा उनलाई जिताउन र भगवतीलाई हराउन सहयोग गरेको अनावश्यक, अनर्गल र गलत आरोप लगाइयो । त्यक्ति बेला हाम्रो ब्याचको १० जनामा नौ जना डिआइजीमा बढुवा गरियो, मलाई बढुवा हुनबाट बञ्चित गरियो’ चौधरीले गुनासोको रुपमा अगाडि बताए ‘हालै भएको डिआइजीको बढुवामा पनि मलाई त्यहि पुरानै केश जोडेर माथिल्लो निकायबाटै रोकियो ।’
बढुवा समितिमा पनि आफ्नो योग्यता र कार्य क्षमतालाई नजरअन्दाज गरेर ‘यसलाई दिन हुन्न भनेर’ ठाडो आदेशले रोकिएको उनले दुखेसाे गरेका थिए ।
एसएसपी चौधरीले आफू लागूऔषध ब्यूरो प्रमुख भएदेखि गरेका कार्यहरुको वर्णन गरेका थिए । गत तीन वर्षको अनुपातमा लागूऔषध सम्बन्धी मुद्दामा कमी आएको बताए।
ब्यूरो प्रमुख चौधरीले नेपाल प्रहरीको ५५ वर्षे उमेर हदका कारण बुधबार नै अबकास पाएका छन् ।
वि.सं.२०७८ असार ९ बुधवार २१:४७ मा प्रकाशित






























