
१० असार, हातेमालोचोक, पर्वत । गण्डकी प्रदेश पर्वत जिल्ला पैयु गाउँपालिकाको ८ औं सभा आगामी आर्थिक वर्ष २०७८ /०७९ का लागि बजेट सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
पर्वतको दक्षिणी भेगमा रहेको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ४३ करोड ६५ लाख २२ हजारको बजेट सार्वजनिक गरेको छ ।
सो गाउँपालिकाकी उपाध्यक्ष एवं बजेट तर्जुमा समितिकी संयोजक जसमति गुरुङले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रम अनुसार गाउँपालिकाको चालु तर्फ ५५ प्रतिशत र पुँजिगत तर्फ ४५ प्रतिशत बजेट रहेको छ ।
आगामी आर्थिक वर्षका लागि सशर्त अनुदानतर्फ रु १८ करोड ८३ लाख, वित्तीय समानीकरण अनुदानबाट रु ८ करोड ५३ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट रु ५ करोड २२ लाख ६९ हजार, संघीय सरकारको विशेष अनुदान रु २ करोड ३० लाख, र आन्तरिक आयतर्फ ६५ लाख ७० हजार हुने बताइएको छ ।
त्यस्तै समपुरक अनुदान संघबाट ४ करोड १४ लाख र प्रदेशबाट १ करोड , चालु आवको बाकी मौज्दात १ करोड ५० लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट रु ९१ लाख ८१ हजार, गण्डकी प्रदेश सरकारतर्फको राजस्व बाँडफाँडबाट रु २४ लाख २ हजार गरी जम्मा ४३ करोड ६५ लाख २२ हजारको बजेट प्रस्तुत भएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी र प्रमुख प्रशासकिय अधिकृत केशव लामिछाने लगायतले आफना भनाइ राखेका थिए ।
वि.सं.२०७८ असार १० बिहीवार २१:०४ मा प्रकाशित