१५ असार, काठमाडौँ । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको बैंकले जनाएको छ ।
भिसा इन्टरनेशनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पीओएस टर्मिनल, एटीएम टर्मिनल तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ ।
स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलका आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ । यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा गर्न सकिने भएकाले यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पु¥याउने विश्वास गरिएको छ ।
भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरे ।
वि.सं.२०७८ असार १५ मंगलवार १६:३७ मा प्रकाशित





























