२१ असार, काठमाडौं । पूर्वमन्त्री प्रभु शाहविरुद्ध एक महिलाले प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उनीबिरुद्ध बाँसबारीकी दीपा कुँवरले महानगरीय प्रहरी वृत्त बानेश्वरमा पुगेर उजुरी दिएकी हुन् ।
यसअघि चुनावका बेला पूर्वमन्त्री शाहले उनीसँग लाखौं रुपैयाँ लिएको र माग्दा पछि दिन्छु भन्दै साहले टारेका कारण दिनहुँ सिंहदरबार पुगेर तत्कालिन श्रम मन्त्री रहेका शाहसँगै पैसा माग्दा नदिएपछि चर्चामा आएकी कुँवरले यसपटक भने प्रहरी वृत्तमा पुगेर उजुरी नै दिएको बताइएको छ ।
शाहले आफूसँग ३० लाख रुपैयाँ लिएर १० लाख फिर्ता दिएको तर अझै २० लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै सो पैसा असुल्न अधिकारकर्मी नै लिएर आइतबार बानेश्वरस्थित साहको निवासमा पुगेकी कुँवरले बानेश्वर प्रहरी वृत्तमा ठाडो उजुरी दिएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिपालले जनाएका छन् ।
आइतबार बिहान साह निवास पुगेकी कुँवरले ठाडो निवेदन दिएको भन्दै प्रहरीले आफूहरु अनुसन्धानकै क्रममा रहेको बताएको छ ।
ठाडो उजुरी दिन प्रहरी वृत्तमा पुगेकी कुँवरले तीनवर्ष अघि नै साहले आफ्नो छोरालाई क्यानडा पठाइदिने भनेर ३० लाख रुपैयाँ लिएको आरोप लगाएकी छन् । उनले पटक–पटक माग्न जाँदा साहले १० लाख रुपैयाँ फिर्ता दिएको तर बाँकी २० लाख माग्न आइतबार साहको घरमा पुग्दा आफूमाथि हातपात भएको भन्दै उजुरी दिन पुगेको बताएकी थिइन् ।
वि.सं.२०७८ असार २१ सोमवार १६:२८ मा प्रकाशित






























