साउन १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेका छन् । आइतबार बिहान उपेन्द्रलाई भेट्न विप्लव उनकै निवासमा पुगेका थिए ।
यसअघि शनिबार मात्रै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास पुगेर विप्लवले भेट गरेका थिए ।
आइतबार यादवलाई भेट्न विप्लवसँगै नेकपाका अर्का नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । अध्यक्ष यादवलाई नेकपाले आफ्ना एजेण्डाबारे जानकारी गराउँदै ३ बुँदे सहमती कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।
विप्लवले गत असार २९ देखि निरन्तर नेताहरुसँग भेटघाट गर्दै आएका छन् । उनले यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतलाई उनकै निवासमा पुगेर भेटेका छन् ।
वि.सं.२०७८ साउन १० आइतवार १३:१५ मा प्रकाशित






























