भदौ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पछिल्लो सर्कुलर बजारमा आएपछि सो पार्टीभित्र हंगामा मच्चिएको छ । गोप्य रुपले पार्टीका तह र संरचनामा पुग्नु पर्ने सकुर्लर (परिपत्र) बजारमा विकाउको माल (गोप्य रुपले सीमित अनलाइनहरुलाई) पठाइएपछि स्थायी समिति र केन्द्रीय समितिका नेताहरुले आश्चर्य प्रकट गर्दै नेतृत्वप्रति गम्भिर प्रश्न उठाउन थालेका हुन् ।
‘पार्टीको जिम्मेवारीका बारे स्थायी समिति र केन्द्रीय सदस्यहरुले जानकारी नपाउँदै केहि मिडियामार्फत जानकारी पाएको भन्दै धेरै नेताहरुले बधाइ लिन लजाइरहेको स्थिति हो’ एक नेताले संसारन्यूजलाई भने । सो परिपत्र संरचनामा नपुग्दै बजारमा पठाइएकाप्रति माओवादीमा गम्भीर प्रश्न उठेको हो ।
मनलागी कार्यविभाजन
माओवादीले लामो समयदेखि हुन नसकेको नेताहरुको कार्यविभाजन त गरेको छ तर, कुनै मापदण्ड नबनाई । अहिले माओवादीभित्र तिव्र असन्तुष्टी मनलागी गरिएको कार्यविभाजनप्रति छ ।
माओवादीले प्रदेश नं १. मा सचिव खाली राख्दै सह–इन्चार्जमा सावित्री काफ्ले, पदम राई, धर्मशिला चापागाई, अजम्बर काङवाङ र अध्यक्ष सुरेश कुमार राई तोकेको छ भने इन्चार्जमा सुरेन्द्र कार्की ‘पार्थ’लाई तोकिएको छ । प्रदेश नं २ मा गणेश शाह इन्चार्ज तथा विश्वनाथ शाह र महेन्द पासवान सहइन्चार्ज तोकिएका छन् भने अध्यक्ष र सचिव खाली राखिएका छन् । त्यसैगरी बागमती प्रदेशमा हितमान शाक्य इन्चार्ज तथा हितबहादुर तामाङ, शशी श्रेष्ठ र सुर्य सुवेदी सहइन्चार्ज छन भने अध्यक्षमा नारायण दाहाल तोकिएका छन् । यो प्रदेशमा सचिव नै तोकिएको छैन ।
यसैगरी गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज र यशोदा सुवेदी सहइन्चार्ज तथा अध्यक्ष हरि अधिकारी तोकिएका छन् भने सचिव त्यहाँ पनि खाली नै राखिएको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा चक्रपाणी खनाल ‘बलदेव’ तोकिएका छन् भने मुख्यमन्त्री कुलप्रसाद केसी र हकिकुल्ला खाँ सहइन्चार्ज रहेका छन् । यो प्रदेशको सचिवमा जगप्रसाद शर्मा ‘आधार’ तोकिएका छन् भने पूर्व सभामुख ओनसरी घर्ति अध्यक्ष रहेकी छन् ।
यसैगरी कर्णाली प्रदेशको इन्चार्जमा शक्ति बस्नेत, सहइन्चार्जमा कालिबहादुर मल्ल, टेकबहादुर बस्नेत र मुख्यमन्त्री महेन्द्र शाही छन् भने राजकुमार शर्मा अध्यक्ष र रामदीप आचार्य सचिव रहेका छन् । लामो समय लेखराज भट्टले नेतृत्व गरेको सुदुरपश्चिममा खगराज भट्ट इन्चार्ज भएका छन भने लक्ष्मीदत्त जोशी र तारामान स्वाँर सहइन्चार्ज भएका छन् । यो प्रदेशको अध्यक्ष र सचिवमा जिम्मेवारी ठोस गरिएको छैन ।
गैरभौगोलिक विशेष समितिको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्जमा केशव नेपाल, गंगा कार्की ‘विश्व’ र पुष्पविक्रम मल्ल तथा अध्यक्षमा लेखनाथ न्यौपाने तोकिएका छन् भने सचिव रिक्त राखिएको छ । यसैगरी सम्पर्क समन्वय समितिको इन्चार्जमा डिलाराम आचार्य, सहइन्चार्ज झक्कु सुवेदी, अध्यक्ष सत्या पहाडी र सचिव देवेन्द्र पराजुली रहेका छन भने प्रवास समितिमा नारायणकाजी श्रेष्ठ इन्चार्ज, ओम शर्मा अध्यक्ष र टीवि पाठक सचिव राखिएका छन् ।
मापदण्ड बिनै इन्चार्ज
जिल्ला समन्वय समितिलाई संयोजनकारी भूमिकामा मात्र राख्ने भनेको नेकपा(माओवादी केन्द्र) ले भूगोलका ७७ जिल्ला, ६ वटा महानगर, उपत्यका विशेषका ६ जिल्ला र सम्पर्क समन्वयका ७ जिल्ला गरी इन्चार्जहरुको जिम्मेवारी तोकेको छ ।
सो पार्टीको परिपत्रअनुसार उपत्यका विशेष समितिको पेशागत जिल्लामा केशव नेपाल, विद्यार्थी जिल्लामा रमेश मल्ल, युवा विशेषमा रामप्रसाद सापकोटा, उद्योगी व्यवसायीमा पुष्पविक्रम हमाल, तोकिएका छन् भने सांस्कृतिक, पत्रकार, कार्यालय र सुकुम्बासी समेतको अर्को जिल्लामा इन्चार्ज निश्चित गरिएको छैन । यसैगरी सम्पर्क समन्वय समिति अन्तर्गत ७ प्रदेशलाई एक÷एक जिल्ला मानी इन्चार्ज तोकिएको छ ।
कसैलाई थेग्न नसक्ने जिम्मेवारी, काेही जिम्मेवारी बिहिन
माओवादी कार्यविभाजनमा सचिवालय र प्रणालीमा समस्या हो की नियतमा खोट हो भन्ने बारे प्रश्न उठेका छन् । माओवादी नेतृ सत्या पहाडीलाई मात्र ४ ठाउँको जिम्मेवारी दिइएको छ । उनी निकट स्रोतका अनुसार उनले यी सबै जिम्मेवारी आफैँ मागेकी होइनन् ।
सो परिपत्रअनुसार उनलाई समाज कल्याण विभागको प्रमुख, सम्पर्क समन्वय समितिको अध्यक्ष, मानवअधिकार तथा सामाजिक संगठनको इन्चार्जसहित कर्णाली प्रदेश सम्पर्क समन्वय समितिको समेत इन्चार्ज तोकिएको छ । यो हेर्दा जिम्मेवारी प्रदानको तरिका निकै हचुवापुर्ण भएको देखिन्छ । गुल्मीको इन्चार्ज बनाइएका लक्ष्मण पन्तलाई वैदशिक रोजगार संगठनहरुको इन्चार्ज दिइएको छ भने बादल समूह छाडेर प्रचण्डलाई सघाएका सूर्य सुवेदीलाई विपद् व्यवस्थापन विभागको प्रमुख र बागमती प्रदेशको सहइन्चार्ज तोकिएको छ । विशेष प्रदेशको सहइन्चार्ज बनाइएका केशव नेपाललाई पेशागत जिल्लाको समेत इन्चार्ज भनिएको छ ।
युवा नेता भनेर प्रचार गरिएका रहवर अन्सारी विरगंज महानगरपालिका इन्चार्ज तोकिएका छन् । केन्द्रीय सदस्य नभएकालाई पनि केन्द्रिय प्रतिनिधिको हैसियत हुने गरी धेरैको संख्यामा जिल्ला इन्चार्ज तोकिएका छन् । तर कतिपय जिल्लामा वरिष्ठहरु हुँदाहुँदै माथिल्लो जिम्मेवारीमा रहेकालाई दोहोरो हुनेगरी इन्चार्ज तोकिएको छ । कर्मचारीतन्त्रमा झै वरिष्ठ छाडेर कतिपय कनिष्ठलाई जिम्मेवारी तोकिदा नेताले काखा र पाखा गरेको भन्दै विरोध बढेको छ ।
जिम्मेवारी लिन अस्वीकार
नेकपा (माओवादी केन्द्र) को कार्य विभाजनप्रति माओवादीभित्रका ३ भाइ शर्माहरुले विरोध र असहमति व्यक्त गरेका छन् ।
सो पार्टीका पुराना नेता नारायण शर्माले प्रचण्डसंगै बैचारिक र सांगठानिक प्रष्टता मागिरहेको बेला अपमानजनक ढंगले जिम्मेवारी दिइएको भनेर प्रष्ट विरोध र असहमति सार्वजनिक गरेका छन् भने पूर्वि नवलपुरका इन्चार्ज किशन शर्माले पनि नारायण शर्माका असन्तुक्ष्टिमा सैद्धान्तिक सहमति रहेको भन्दैसँगै मिलेर लडने बताएका छन ।
यता काठमाडौं पार्टीको लामो समय नेतृत्व गरेका हिमाल शर्माले पनि माओवादी पुर्नगठनको अभियानमा पार्टी शसक्त बनाएको र लागिरहने भन्दै भूमिकाप्रति घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
माओवादीमा नेताहरुको कार्यविभाजन, कसले के जिम्मेवारी पाए ? (सूचीसहित)
वि.सं.२०७८ भदौ ९ बुधवार १७:४५ मा प्रकाशित






























