भदौ १५, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले माधवले आफ्नै पनि राजनीतिक भविष्य सकाएको बताए ।
ज्ञवालीले भने, ‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ ।’
उनले एमाले छाडेर जाने माधवको भविष्य नभएको बताए । एमालेको एजेण्डा र विचार बोकेर कहाँ पुग्ने टुंगो नभएको उनको टिप्पणी छ । ज्ञवालीले माधव नेपालाई प्रश्न गर्दै भने, ‘एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ रु हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’
यसअघि एमालेमा समूहगत विभाजन हुँदा माधवकुमार नेपाल समूहमा रहेर आफूहरूले गतिविधि गरे पनि पछि त्यसभित्रै भएको अन्तर्विरोधका कारण आफूहरू एमालेमै लागेको उनले बताए। त्यस क्रममा पार्टी एकता गर्ने र विभाजन गर्ने विषयमा अन्तर्विरोध भएको उपाध्यक्ष ज्ञवालीले बताए।
‘हामीले उहाँहरूलाई विश्वास दिलाउन एक महिना प्रयास गर्यौं, तर उहाँले अचानक पार्टी दर्ता गराउनुभयो,’ उनले भने, ‘त्यो कुरामा हामी १० जना जति साथीहरू सहमत थिएनौं, विभाजन नचाहेर हामी एमालेमै आयौं।’
केपी ओलीसँग रहेर सहकार्य गर्ने मनस्थिति नेपालको नभएकाले विभाजनमा लागेको ज्ञवालीले बताए।
वि.सं.२०७८ भदौ १५ मंगलवार ११:५१ मा प्रकाशित






























