भदौ १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको प्रयास थालेका छन् । सत्तामा पुगेको डेढ महिना पछि देउवाले विश्वास पात्र खटाएर छलफल प्रारम्भ गरेका हुन् ।
मंगलबार देउवाको दूत बनेर कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । कार्कीले त्यसअघि ओलीका विश्वास पात्र मानिने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि भेटेका थिए । नेम्वाङसँगको छलफलपश्चात कार्की ओली निवास छिरेका हुन् ।
एमसीसी पास गराउन सहकार्य खोज्दै देउवा
कानून मन्त्री कार्कीले सञ्चार माध्यमलाई बताएअनुसार ओलीसँग संसद अधिवेशन सञ्चालनदेखि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्मका विषयमा छलफल भएका थिए । एमसीसीलाई अघि बढाउन एमालेले साथ दिनुपर्ने कुरा कार्कीले राखेको बुझिएको छ ।
दलहरुबीच सहमति नहुँदा एकातिर एमसीसीसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन् भने अर्कोतिर ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पनि अन्यौंलमा परेको छ । देउवाले दुवै विषयमा सहकार्य गर्न खोजेको देखिन्छ ।
गठबन्धनभित्रको किचलोले समस्यामा छन् देउवा
पछिल्लो समय सत्तारुढ गठबन्धनभित्र किचलो बढ्न थालेको देखिएको छ । मन्त्रालय भागवण्डालगायतका विषयमा दिनहुँ दलहरुबीच छलफल भए पनि सहमति भने जुट्न सकेको छैन् । केहि दिनदेखि निरन्तर जारी गठबन्धनको बैठक सहमति उन्मुखभन्दा विवाद बढाउने खालको देखिन्छ ।
सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णंता नपाउँदा प्रधानमन्त्री देउवा निकै सकसमा छन् । उनी पार्टीभित्र र बाहिर आलोचनाको केन्द्र पनि बनिरहेका छन् ।
गठबन्धनभित्र किचलो बढिरहेको बेला देउवाले दूत पठाएर गरेको ‘मुभ’लाई अर्थपूर्णं रुपमा लिइएको छ । गठबन्धन फुट्दैछ भन्ने एमाले अध्यक्ष ओलीको भनाई र देउवाको मुभलाई जोडेर हेर्दा राजनीतिक परिदृश्य फरक रुपमा गईरहेको देखिन्छ ।
वि.सं.२०७८ भदौ १६ बुधवार १३:२० मा प्रकाशित






























