भदौ २३, काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटामाथि महाअभियोग लगाउनुपर्ने सुझाब संसदीय दललाई दिएका छन् । बुधबार एमाले संसदीय दलको बोल्ने अधिकांश सांसदहरुले यस्तो सुझाब दिएका हुन् ।
बैठकमा बोल्दै सांसद महेश बस्नेतले सापकोटाले सभामुखको पदिय भूमिका निर्वाह गर्न नसकेको बताए । उनले संवैधानिक दायित्व पुरा गर्न नसक्ने सापकोटाको विकल्प खोज्नुपर्ने सुझाब दललाई दिए ।
‘सभामुखको भूमिका संवैधानिक दायित्व पूरा गर्नुपर्नेतर्फ हुनुपर्ने थियो, तर त्यो देखिएन’, बैठकमा बोल्दै बस्नेतले भने, ‘अभिभावकको भूमिका नगरेर निश्चित दलको कार्यकर्ता बने। संसद् अवरुद्व गर्ने भन्दा पनि उचित जवाफ खोज्नुपर्छ। महाअभियोगसम्म हामी जानुपर्छ।’
बस्नेतले एमालेलाई फुटाउन सभामुखको भूमिका पनि उत्तिकै जिम्मेवार रहेको बताए ।
त्यस्तै अर्का सांसद गोकुल बाँस्कोटाले सापकोटालाई सभामुखको रुपमा स्वीकार गर्न नसकिने बताए । उनले राजीनामा नै मागेर जानुपर्ने धारणा बैठकमा राखे ।
‘संसद अवरोधको विकल्प छैन्, यस्तो अवस्थामा पनि सदन चलाउन खोज्छन् भनेर सभामुखको राजीनामा मागेरै जानुपर्छ, राजीनामा दिने कि नदिने उनको कुरा हो’, बाँस्कोटाले भने ।
त्यस्तै अर्की सांसद निरुदेवी पालले सभामुख एमाले विभाजनको मतियार बनेको भन्दै राजीनामा माग्नुको विकल्प नरहेको बताइन् । उनले सभामुखको भूमिका नीति नियमभन्दा फरक भएको भन्दै विरोध जनाइन् ।
पूर्वसभामुखसमेत रहेकी सांसद शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखको भूमिका गैरकानूनी भएको टिप्पणी गरिन् । उनले सभामुखको विषयमा एमालेले गम्भीर रुपमै सोंच्नुपर्ने बताइन् ।
‘एमसीसीमा स्वीकार गर्न हुन्न’
बैठकमा सभामुखको विषयसँगै एमसीसीको विषयले पनि प्राथमिकता पाएको छ । बैठकमा बोल्ने अधिकांश सांसदले एमसीसीमा एमालेको धारणा स्पष्ट गर्नुपर्ने माग गरेका छन् ।
बैठकमा बोल्ने कतिपय सांसदले एमसीसीलाई अस्वीकार गरेर जानुपर्ने पनि बताए । बैठकमा बोल्दै सांसद निरुदेवी पालले एमसीसीको पक्षमा एमाले लाग्न नहुने बताइन् ।
‘अहिले देशभर जनताले नो एमसीसी भनेर विरोध गरिरहेको अवस्था छ। जनताको अभिमतलाई सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘यसमा हाम्रो प्रष्ट धारणा आओस्। मेरो प्रष्ट धारणा के हो भने अहिले एमसीसीको पक्षमा एमाले लाग्नुहुन्न।’
सांसद तुम्बाहाम्फेले पनि एमसीसीका प्रावधानप्रति गम्भीर प्रश्नहरु उठेको भन्दै उनले एमाले सजग भएर सोंच्नुपर्ने बताइन् । बैठकमा बोल्दै सांसद गंगा चौधरीले एमसीसी पास गर्न नहुने सुझाब राखिन् । पार्टी जोगाउन पनि एमसीसीलाई अगाडि लान नहुने सुझाब उनको छ ।
वि.सं.२०७८ भदौ २३ बुधवार १३:०० मा प्रकाशित






























