रविन्द्र मिश्र ज्यू नमस्कार ।
सर्वप्रथम त तपाईलाई अग्रिम बधाई तथा शुभकामना । नेपाली पत्रकारिताको जगत र आम जनमानसमा असल पत्रकारको छवि बनाउदै आउनु भएका तपाई, सुन्दै छु असल नेता बन्ने कसरत गर्दै हुनुुहुन्छ रे । त्योे हामी सबैको लागि खुसीको कुरा पनि हो । पत्रकारितामा जति सफल हुनुभयो राजनीतिमा त्यत्ति नै सफल हुनुहुुन्छ वा हुनुहुन्न समयले देखाउला । तर त्यो भन्दा धेरै सफल हुनुहुने नै छ भन्ने झिनो आशा राख्दछु ।
हिजोसम्म विविसी नेपाली सेवाको नेपाल सन्दर्भमा नेताहरुलाई चोटिलो प्रश्न सोधेर जनताबाट हाईहाई पाउनु भएका तपाई आजबाट तिनै प्रश्नहरुको जवाफ दिने ठाउँमा ओर्लँदै हुनुहुन्छ । सायद यो जोखिम मोल्न आँट गरेरै यस्तो निर्णय लिनु भएको होला ।
तपाईले विविसी छोड्नु भन्दा अघिल्लो दिन फणिन्द्र फुयाँलसँगको अन्र्तवार्तामा भन्नुभएको थियो, ‘म निलो पानीको डुंगाबाट जानीजानीकन फोहोर भरिएको अथवा फोहोर बनाइएको पोखरीमा हामफाल्न जाँदैछु ।’
मलाई यही कुरामा एउटा प्रश्न गर्न मन लाग्यो ‘तपाई फोहोर पानीमा हामफाल्न जाँदै गर्दा वर्षौदेखि फोहोर पानी मै पौडिरहेकाहरुले तपाईलाई पनि उम्कन दिएनन् भने जनतालाई के जवाफ दिनुहुन्छ ? कि मैले गर्न खोजेकै हो अरुले अवरोध गरे भनेर टार्नुहुन्छ ? अहिलेका नेताहरुले भन्ने गरेको कुरा यही नै हो । सायद तपाई पनि अछुतो हुनुहुन्न भन्ने लाग्छ । किनकी हाम्रो देशमा यस्तै किसिमको राजनीतिक संस्कारको विकास भएको छ ।
कुनै एउटा अनलाइनले सोधेको प्रश्न ‘राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि धेरै ठूलो आदर्शका कुरा गर्ने मानिस त्यहाँभित्र पसिसकेपछि बिजोग भएका छन् । ‘महात्मा गान्धी र मन्डेलाजस्ता हुन्छौं, पदमा जाँदै जाँदैनौँ’ भनेकाहरुले देखाएको गति नेपाली समाजले हेरिसकेको छ । यस्तोमा..अनि हामीले किन त्यस्तालाई विश्वास ग¥यौं त ?
तपाईको उत्तर छ ‘जसमा त्यो चरित्रै थिएन । जसले गरिबका चप्पल नलगाएका छोराछोरीलाई स्कुलबाट घिसारेर लगेर मर्न लगाए । र त्यसो गर्न लगाउने मध्येका कतिपयले आफ्ना छोराछोरीलाई लुकाएर राखेर पढ्न लगाए । तिनीहरुले महात्मा गान्धी र मण्डेला बन्छौं भन्दा हामीले किन विश्वास गरेको ? जसले अरुको लुटेर आफ्नो जीवन चलाए र हिंसालाई प्रयोग गरे, त्यो पनि कुन देशमा भने लोकतान्त्रिक पद्दति भएको देशमा । कुनै तानाशाही पद्दति भएको देशमा होइन । अनि हामीले किन विश्वास गरेको त ? प्रश्न त्यो हो । इतिहासमा यस्तो क्षण पनि आउँछ जब मानिसलाई बहकाइन्छ । तर, यसरी बहकाएर गरिएको राजनीतिले क्षणिक लाभ त देला दूरगामी लाभ चाहिँ कतै पनि दिँदैन ।”
मिश्र जी तपाईंको यो जवाफ चित्त बुझ्दो र यथार्थपरक पनि छ । तर तपाईले खान पुगोस दिन पुगोस भनेर चलाएको अभियानमा अरवौं रुपैयाँ जम्मा भइसक्दा पनि कसैलाई केही दिए जस्तो त लाग्दैन ! खै कहाँ पुग्यो तपाईको ‘परोपकारी समाज ! परोपकारी राज्य ! परिवर्तन हाम्रै पालामा भन्ने नारा ? आजभोली लुट्ने, ठग्ने र माग्ने तरिका फरक हुँदै आएका छन् । तपाईले पनि माग्ने तरिका फरक बनाउनु भयो, तर दिन कन्जुस गरिरहनु भएको छ भन्ने आशंकाहरु उठ्न थालेका छन् । । तपाईकै भाषामा भन्दा लोकतान्त्रिक पद्धती भएको देशमा हुने नै यस्तै होला है ?
धेरै मानिसहरुको जिज्ञासा के छ भने रविन्द्र मिश्रले किन पार्टी खोल्दैछन् ? के राम्रो काम गर्न पार्टी नै खोल्नुपर्छ ? अन्य विकल्प केही छैनन् ? कि आफूले उठाएको कालो धनलाई सेतो पार्न पार्टी खोलेको नाटक गर्दैछन् ? भन्ने कुरा पनि अहिले टिकाटिप्पणीको विषय बनेको छ । यो कुरा पनि यहाँले कुनै बेला मिडिया वा सामाजिक सञ्जाल मार्फत ल्याइदिनु हुनेछ भन्ने आशा गर्दछु ।
मलाई विश्वास छ तपाई शैद्धान्तिक भन्दा व्यवहारिक बाटोमा अघि बढ्नु हुनेछ । यदि तपाई पनि सिद्धान्तको पछि लाग्नु भयो भने तपाईले पाउने भनेको गाली मात्रै हो । सिद्धान्त रट्दा रट्दै र रटाउँदा रटाउँदै थाकेका नेपाली मनहरु अव व्यवहारिक बन्न खोजिरहेका छन् । यसमा तपाईको ध्यान जाओस् ।
जुन आन्दोलनको जगमा नेपालमा गणतन्त्र स्थापना भयो त्यही आन्दोलनलाई गाली गर्दै तपाईं राजनीतिको मैदानका उत्रँदै हुनुहुन्छ । आगामी दिन तपाईका लागि तपाईकै कारणले कति सहज र कति असहज हुनेछ भन्ने तपाईकै हातमा छ । नासाका वैज्ञानिक सिके राउत अमेरिकाबाट नेपाल आएर जुन किसिमको गतिविधि गरिरहेका छन् त्यस्तै गतिविधि लण्डनबाट नेपाल आएर तपाईंबाट नहोस् मेरो सुभेच्छा छ ।