back

पुरुष आक्रामक हुँदो हो त, छोरी बुहारी कहि पनि सुरक्षित हुन्थेनन्– कृष्ण धरावासी

वि.सं.२०७३ फागुन २१ शनिवार

528 

shares
GLOBAL IME AD
NTC AD

krishna-dharabasi
हरेक मानिसको जीवनमा आ–आफ्नै कथा र व्यथा लुकेका हुन्छन् । कसैले त्यसलाई प्रस्तुत गर्छन् त कसैले लुकाएरै राख्छन् । नेपाली समाजमा घटेका थुप्रै घटनाहरुको कथा लेखेर आम पाठकलाई बारम्बार हँसाउने र रुवाउने साहित्यकार कृष्ण धराबासीको पनि आफ्नो छुट्टै कथा छ जीवनको । आधाबाटो, शरणार्थी, झोला, राधा जस्ता दर्जनौ चर्चित कथा र उपन्यास लेखेका धराबासीको आफ्नै जीवनको उपन्यास लेखिदिने मान्छे छैन ।
आमाले जत्ति नै माया गर्ने श्रीमती सीताको असामयिक निधन पछि एक्लो बनेका धराबासीलाई समाजले दोस्रो विवाह नगरी सुखै दिएन । अन्तत : मञ्जु विमलीसँग विवाह गरेर अमेरिका गए । केही समयको छुट्टीमा काठमाण्डौं फर्किएका धराबासीसँग संसार न्युज डटकमले भलाकुसारी गर्ने मौका पायो । तपाईंले पनि अब देश छोड्नु भयो होइन त भन्ने प्रश्नमा धराबासी भन्छन् :

म अमेरिका बस्ने गरी गएकै होइन
श्रीमती मञ्जुलाई डिभी परेपछि हामी अमेरिका जानु पर्र्ने भयो । किनकी हामीलाई छोराछोरी अमेरिका पठाउनु थियो । नेपालमा जति आदर्शका कुरा गरेपनि युवाहरुको लागि भविष्य छैन । मेरो छोरा छोरीलाई मैले दुःख सुख गरेर बिए र एमए पढाउँछु । तर, एमए गरेको विद्यार्थीले जागिर पाउँदैन अनि उसलाई नेपालमै बस भनेर हुन्छ ? पढाउने जिम्मा त सरकारले लिएन लिएन, एउटा योग्य युवालाई जागिर दिन सक्दैन भने मेरो देश भनेर मात्र कोही युवा बस्नेवाला छैन । त्यसैको परिणाम हो हाम्रा छोराछोरी अमेरिका पठाउनु । अनि मेरो सवालमा भन्दा म अमेरिका बस्ने गरी गएकै होइन । त्यहाँ त छोराछोरी सेटल भएपछि हामी यही फर्किन्छौं । मलाई अमेरिका गएपछि एउटा फाइदा भयो ‘ग्रेट फल्स’ उपन्यास लेख्ने । यदि म अमेरिका गएको थिइन भने ग्रेट फल्स आउने थिएन ।

लीलाबोध र तल्लो बाटो आउँदै
मेरो अव दुईवटा कृतिहरु छिट्टै आउँदैछ । एउटा दर्शनको किताव ‘लिलाबोध र अर्काे ‘तल्लो बाटो’ उपन्यास । युवाहरु चोरबाट कसरी अमेरिका पुग्छन् भन्ने कथा समेटिएको छ ।

अमेरिकामा दोस्रो पुस्तामा नेपाली साहित्यकार हराउँछन्
मलाई के लाग्छ भने अमेरिकामा अवको पुस्तामा नेपाली साहित्यकार भेटिँदैनन् । किनभने अव ट्रम्पले डिभी प्रक्रिया रोक्ने कुरा गरिरहेको छ । पहिलो पुस्ताले अलि अलि साहित्य लेखेपनि त्यहाँ जन्मने नेपालीहरुले नेपाली भाषा बोल्दै बोल्दैनन् । अनि कसरी लेख्छन् साहित्य ? अहिले भएको अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज पनि हुँदैन केही पनि हुँदैन ।

dharabasi3

लेखनको समयमा लेखक निरपेक्ष हुनुपर्छ
मलाई के लाग्छ भने हरेक लेखक लेखनको समयमा नीरपेक्ष हुनुपर्छ । कुनै एउटा विषयमा कथा लेख्न थालियो भने त्यहाँ विभिन्न कुराहरु समावेश गर्नुपर्छ । यता र उता सोच्न थालियो भने त्यो लेखक सफल हुन सक्दैन । हामीले कथामा जे कुराको पनि कल्पना गरेर लेख्नुपर्ने हुन्छ । यदि निरपेक्ष नहुने हो भने मैले टुँडाल कसरी लेख्थें होला , राधा कसरी लेख्थें होला ? त्यसैले हामी लेखक लेखनको समयमा निकै निरपेक्ष भएर अगाडि बढ्नुपर्छ ।

श्रीमती नहुने एकल पुरुषको जीवन
सीता जी बितेपछि साथीहरु पनि आउन छाडे । उनीहरु सोच्दा हुन्, उसैले हामीलाई चिया पकाएर खुवाउनु पर्दछ, के जानु त्यहाँ । मोबाइलमा फोन पनि आउन छाड्यो ।

श्रीमती हुँदा न त उसले आफ्नो व्यक्तिगत काम गर्न नै जानेको हुन्छ न त उसले घरभित्रका कामहरु नै । श्रीमती नभएपछि ती काम न त सिक्न सक्छ न त घर भित्रका काम नै गर्न सक्छन् । अझ छोरा काममा जान्छन् र छोरी बुहारी दिउँसो घरमा बस्छन् भने त्यहाँ एकल पुरुषलाई समाजले निकै सकस दिन्छ । विभिन्न शंकाउपशंका गरिन्छ, दिउँसो बाबु–छोरी, ससुरा–बुहारी दिनभरी घरै हुन्छन् ढोका लगाएर बस्छन्, के के गर्दछन् के थाह !

हामीकहाँ विवाह गर्दा श्रीमान भन्दा श्रीमती कान्छि हुनु पर्ने मान्यता छ । यो मान्यता भनेको श्रीमती भन्दा पहिला श्रीमानको मृत्यु हुन्छ । यसअर्थमा महिला सुरु देखि नै विधवा भएर बस्नु पर्ने मानसिक रुपमा तयार हुन्छन्, तर पहिला श्रीमती बित्नु भनेको अप्रत्याशित हुन्छ ।

विवाह गर्नुको मुख्य कारण
सीता जी बितेपछि घरबाट त्यत्ति बाहिर हिड्न मन लाग्दैनथ्यो । मनमा मरिसकेका साथीहरु र आफ्न्तको चित्र घुमिरहन्थ्यो । एकजना साथी आत्महत्या गरेर मरेका थिए । एक दिन घर बस्दा बस्दै दिमागमा अनेक कुरा खेल्न थाले । सोँचे, त्यो साथी कसरी झुण्डिएर म¥यो होला ? सिलिङ, सिलिङमा एउटा अंकुश, एउटा डोरी, घाँटीमा यसो छिरायो, एकछिन त हो नी । उ यसै गरी म¥यो की ? त्यतिबेला मन एकोहोरो भयो, आफूलाई पनि त्यो प्रयोग गरौं गरौ लाग्यो ।, एकोहोरिए । यस्तै सोच्दै थिए, छोराले ढोका घरक्क पार्दा पो झसङ्ग हुन पुगेँ । त्यसपछि म कामै नभए पनि एक्लै झोला बोकेर दिनभरी घरबाहिर डुल्न थालेँ ।

krishna-dharabasi2
विवाह गर्नुपर्ने बाध्यता मलाई थिएन । तर समाजले मलाई बाध्य बनायो । सीता जी बितेको एकवर्ष भएको छैन, आफन्तका जहाँ गयो त्यहाँ मलाई विवाह गर्न सुझाव दिनेहरु विशेष गरी महिलाहरु नै हुन्थे । बिचरा, यति लामो उमेर छ, कसरी कट्छ, साथी त चाहिन्छ भनेर उकास्ने विशेष गरी महिला नै हुन्थे । श्रीमती बिना बाँच्न गाह्रो त गाह्रै हुन्छ । एकदिन कार्यक्रममा कुनातिर बसेर खाजा खाँदै थिएँ । मलाई देखेपछि एक महिला मसँग कुरा गर्न नजिक आइन् । हामी दुईजना गफ गरेर बसेका थियाँै । त्यहिँ बेला मेरो मोबाइलमा एउटा म्यासेज लेखिएको थियो, “दाइ, मोज गर्नुस्”।

यसपछि म बाध्य भएँ जसरी भएपनि विवाह गर्नै पर्दछ । विवाहको लागि मैले पनि सर्त राखेँ “सीता भन्दा कम उमेरको हुनु भएन, कि विधवा कि एकल महिला हुनु पर्यो, बच्चा जन्माउने चाहना नभएकी महिला हुनुपर्दछ ।” हाम्रो समाज कस्तो छ भने, हिजो विवाह नगर्दा सम्म मलाई उचाल्ने महिला हुन्थे, विवाह पछि महिलावादीहरुले भन्न थाले “श्रीमती बितेको एक वर्ष नी भएको छैन, विवाह गर्यो ।” पहिलाको श्रीमतीलाई बिर्सियो । मैले २६ वर्ष सीतासँग सँगै बिताएका जीवनका पल कसरी बिर्सन सक्थेँ र ! लामो यात्राको गाडी कतै बाटोमा बिग्रीयो र बनाउन २–३ दिन लाग्छ भने कुरेर बस्न त सकिँदैन नी, अर्को गाढी त चढ्नै पर्दछ । तर अर्को गाढी चढ्दैमा लामो यात्राको साथलाई कसरी भुल्न सकिन्छ र ?

पुरुषलाई आक्रमणकारीको रुपमा चित्रण
श्रीमती गुमाउनु पर्दाको पीडा श्रीमानलाई बढी हुन्छ । पुरुषलाई सँधै आक्रमक, कठोर रुपमा समाजले चिनाएको हुन्छ । आमा बित्दा दिदीबहिनी आएर डाँको छोडेर रोए तर मलाई छोरा मान्छे भएर रुन हुँदैन भन्दै मनको पीडालाई भित्रै दबाएर चिता तयार गर्ने, यसो गर उसो गर भन्नु पर्ने । श्रीमती बित्दा पनि खुलेर रुन पाइन । पुरुष भनेका आक्रमक हुन्छन्, महिला देख्यो की उनीहरुप्रति नकरात्मक दृष्टिकोण हुन्छन् । तर यसो होइन । यदि यस्तै हुँदो हो त घरका छोरी बुहारी सबै असुरक्षित हुन्थे होलान् । पुरुष त झन कमजोर हुन्छ । उसलाई जन्मेदेखि नै छोरा भनेको हिम्मतीलो हुनुपर्छ भन्ने संस्कार सिकाएकाले उ खुलेर रुन पनि धक मान्छ । बास्तवमा पीडा सहन गर्ने शक्ति पुरुषमा भन्दा महिलामा बढी हुन्छ । तर, समाजले महिलालाई यहि संस्कार सिकाएको हुन्छ । के गर्छेस, तेरो भाग्य यस्तै, रोएर मन हलुंगो बना ।

वि.सं.२०७३ फागुन २१ शनिवार ०५:०६ मा प्रकाशित

महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छ : विष्णुकुमारी सापकोटा

महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छ : विष्णुकुमारी सापकोटा

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । जनताको...

राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम जारी छः देवन्द्र दाहाल

राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम जारी छः देवन्द्र दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल राष्ट्रियसभाको सदस्य...