काठमाडौं । इजलास फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्वको आन्दोलनमा समर्थन रहेको बताएका छन् । नेपाल बार र सर्वोच्च बार एसोसिएशनका पदाधिकारीहरुसँगको छलफलमा उनीहरुले आफ्नो धारणा स्पष्ट पारेका हुन् ।
न्यायाधीशहरुले आन्दोलनका कारण सेवाग्राहीले दुःख पाएको भन्दै उक्त चिन्तालाई सम्बोधन गर्न इजलासमा सहभागी भएको बताएका छन् । बार र अन्य न्यायाधीशहरुले उठाएको मुद्दा जायज रहेको भन्दै उनीहरुले इजलासमा सहभागी भए पनि आन्दोलनमा समर्थन जनाउने बताए ।
छलफलका क्रममा न्यायाधीशको भनाइ उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भनेका छन्, ‘आन्दोलनप्रति हाम्रो पूर्णं समर्थन छ, तर आन्दोलनका कारण सेवाग्राहीले निकै दुःख पाए । हामी सेवाग्राहीको दुःखलाई सम्बोधन गर्न मात्रै इजलासमा सहभागी भएका हौं, न्यायाधीशसँगै बारको बटमलाईको पक्षमा छ ।’
मंगलबारदेखि इजलासमा फर्किएका उनीहरुले निवेदन फिर्तालगायतका सामान्य खालका मुद्दाहरु मात्र हेरेको बताएका छन् ।
मंगलबारदेखि इजलासमा सहभागी पाँच न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाललाई भेट्न बुधबार बार अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष ईश्वरी खतिवडा, रक्षा बस्याल, सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे पुगेका थिए ।
वि.सं.२०७८ मंसिर १ बुधवार १७:२१ मा प्रकाशित






























